कविता: नक्कली भिखारी
देउ भनेर सँधै हिँडी
फिजाऊ ती हात, भिख दिन्छु मै पनि
मागी मागी हिड्ने माग्ने तिमी
खोल त्यो झोली, भिख दिन्छु मै पनि।।
रुखो बचन र ती बोली सुन्दै
लैजाऊ मेरो नि, भिख दिन्छु मै पनि
हेला र छिःछिःः दुरदुर भनी
पीडामा कराउ, भिख दिन्छु मै पनि।।
घरघर, मान्छे मान्छे खोज्दै चाहर्दै तिमी
आउ मेरोमा भिख दिन्छु मै पनि
सहर गाउँ, गल्ली कुनामा भुल्दै तिमी
देखाऊ दुख भिख दिन्छु मै पनि।।
भिख, भिक्षा, पैसा मागेरै हिँडी
दुई मुट्ठी चामलसँगै पैसा दिन्छु मै पनि
हेलित् बनि बाँच्न चाहेको तिमी ?
हेला बोक्ने थैली थपिदिन्छु मै पनि।।
हातगोडा दरै भाको भिखारी तिमी
लाजै पचाइ माग्छौ भिख, दिन्छु मै पनि
दुई मुट्ठी चामल जोड्ने आँट गरि हेर त तिमी
त्यो परिश्रमलाई साथ दिन्छु मै पनि ।।
सुकाबाट मोहोर, मोहोरबाट रुपैयाँ नमागी बनाई हेर तिमी
जुट काम गर्ने साहस दिन्छु मै पनि
तिरस्कृत कथाको पात्र नबन न, बिन्ती तिमी
बाँच आफैमा त्यो विश्वास दिन्छु मै पनि।।
मेरो त तिम्रा पनि हात सँधै माथि हुन् भन्ने चाहना छ हेर
खै पैसा र चामलभन्दा बढी के पायौ, हेला र तिरस्कार ?
मलाई त के छ र तिमीलाई दिने भिखले, मलाई गरिब त पक्का बनाउँदैन
तर तिमी सद्दे भएर माग्दै हिँडेको साथी अलिकति पनि सुहाउँदैन ।।
फेरी तिमीले भिख माग्दै गर्दा त्यो असली भिखारी मर्कामा पर्ला
तिमी त सँधै अघाएका त छौ, त्यो असली भिखारी भोक भोकै मर्ला
अपाङ्ग अशक्त होला ऊ विचरा, तर तिम्रो ढोङले उसले सहयोग नपाउला
उसको पिर र रोदनको आत्मग्लानिले तिम्रो मनमा फेरी आगो रन्काउला ।।
त्यसैले पसिना बगाएर त हेर हे साथी, त्यो पसिनाको मूल्य र मिठास तिमी
मेहेनत सँगसँगै हाँसेको त्यो आत्मसम्मानलाई, खुलेर ताली र स्याबास दिन्छु मै पनि ।।
रोशनी खड्का प्याकुरेल- हाल–मेलबर्न भिक्टोरिया, अस्ट्रेलिया बस्नुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्