औषधि विधेयक अन्तिम चरणमा छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले औषधि विधेयक अन्तिम चरणमा रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘औषधिको उत्पादन, वितरण, गुणस्तर तथा मूल्यका सम्बन्धमा’ भएको छलफलमा उहाँले संसद्को आगामी अधिवेशनमा औषधि विधेयक प्रस्ताव गर्ने गरी तयारी अन्तिम चरणमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो विधेयकमा औषधिका विभिन्न पाटोहरु रहेको छ । उत्पादनको सन्दर्भमा हाल नेपालमा एक सय ७३ औषधि उद्योगलले औषधि उत्पादन गरिरहेका छन् । ती उद्योगबाट करिब ५० प्रतिशतको हाराहारीमा आवश्यकता अनुसारको औषधि उत्पादन हुन्छ । कतिपय औषधि, खोपलगायत नेपालमा उत्पादन हुन सक्दैनन् । औषधिमा आत्मनिर्भर हुने कुरा जटिल नै छ ।”

स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्ने, कानुनी प्रबन्ध त्यसअनुसार निर्माण गर्ने र स्वदेशमै उत्पादित औषधि खरिद गर्ने, राज्यले निःशुल्क गरेका औषधि स्वदेशी उत्पादन हुनुपर्नेलगायत विषय छलफल गरिरहेको मन्त्री पौडेलले बताउनुभयो ।

मन्त्रालयका सचिव डा रोशन पोखरेलले नेपालमै उत्पादन हुने औषधिको आयातमा विचार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “औषधिको खरिद प्रक्रियाले औषधिको उपलब्धतामा समस्या देखापरेको छ । खरिद ऐनलाई पुनःविचार गर्न आवश्यक छ ।”

सांसद देवेन्द्र पौडेलले बीमा सरल र सहज नभएको बताउनुभयो । उहाँले कुनै नागरिकले भनेको बेला उपचार पाउनुपर्ने बताउनुभयो । सांसद डा तोसिमा कार्कीले नेपालमा उत्पादन भएको औषधिलाई प्रवर्द्धन गर्नका लागि सरकराले कस्तो रणनीति ल्याउँदैछ भनेर प्रश्न उठाउनुभयो । त्यसैगरी सांसद सुमना श्रेष्ठले अस्पतालमा उपचार गर्नका लागि मिटर ब्याजमा नागरिकले पैसा लिनुपरेको बताउँदै स्वास्थ्य उपचार सेवा सर्वसुलभ हुनुपर्ने बताउनुभयो ।

सांसदहरुले प्रस्तुत विषयमा थप सरोकारवाला र विज्ञ बोलाएर छलफलको आवश्यकता रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.