प्राथमिकताका आधारमा निर्माणसम्बन्धी काम अघि बढ्छन्: उपप्रधानमन्त्री सिंह
चितवन, २९ मङ्सिरः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकास, निर्माणसम्बन्धी काम प्राथमिकताका आधारमा अघि बढ्ने बताउनुभएको छ ।
भरतपुर विमानस्थलमा पत्रकारहरूसँग आज कुराकानी गर्दै उपप्रधानमन्त्री सिंहले विधि र आवश्यक प्रक्रियाअनुसार प्राथमिकताका आधारमा विकास, निर्माणसम्बन्धी काम अघि बढाइने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “योजनाबिना काम थाल्नुभन्दा आवश्यकता र प्राथमिकताका आधारमा निष्कर्षमा पु¥याउने गरी निर्माण अघि बढाउने छौँ ।”
कुनै पनि निर्माणसम्बन्धी काम एक महिना वा छोटो अवधिमा सम्पन्न नभई योजनाबद्ध रूपमा गर्न जरुरी रहेकामा सहरी विकासमन्त्री सिंहले जोड दिनुभयो । पूर्वाधार निर्माणका लागि योजनासहित संरचना बनाउन समय लाग्ने भन्दै उहाँले बनेका विशेष संरचनाहरू सञ्चालन प्रक्रियामा अघि बढाइएको बताउनुभयो ।
उपप्रधानमन्त्री सिंहसँगै चितवन पुग्नुभएका गृहमन्त्री रमेश लेखकले भरतपुर विमानस्थलमा प्रमुख प्रतिपक्षी दल जिम्मेवार रूपमा प्रस्तुत भई संविधान, देश र जनताकेन्द्रित कामका लागि सरकार र सरोकार भएकासँग आवश्यक सहकार्य र समन्वय गर्नुपर्ने बताउनुभयो ।
मुलुकमा कानुनी राज्य स्थापना गर्दै विधिको शासन कायम गर्न सरकार लागिपरेको बताउँदै उहाँले सरकारको यो काममा प्रतिपक्षी दलले पनि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
—
प्रतिक्रिया राख्नुहोस्