माओवादी केन्द्रप्रति जनताको उत्साह र भरोसा बढेको छः अध्यक्ष प्रचण्ड

रुपन्देही- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रप्रति आम जनताको उत्साह बढेको बताउनु भएको छ ।

रुपन्देहीमा आयोजित नेकपा माओवादी केन्द्रसँग राष्ट्रिय जनमुक्ति पार्टी समाहित तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पछिल्लो समय माओवादी केन्द्रप्रति जनताको उत्साह र भरोसा बढेको बताउनु भयो ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष प्रचण्डले आफू जहाँ पुग्यो त्यहाँ जिन्दावादको नारा लागेको बताउनु भएको छ । ‘पछिल्लो समय जहाँ गएँ, त्यहीँ पार्टी नेतृत्वप्रति जिन्दावादको नारा लागेको छ । नेपाली जनताको यो भरोसालाई अलिकति पनि तोड्न दिने छैन,’ उहाँले भन्नुभयो ।

उहाँले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र नै हो भनेर जनताले मनमनै फैसला गरिसकेको पनि दाबी गर्नुभयो । माओवादी केन्द्रको नेतृत्वमा बनेका सरकारले गरेका काम र अगाडि बढाएका योजनालाई जनताले सकारात्मक ढंगले बुझ्दै गएको उहाँको भनाइ छ ।

अध्यक्ष प्रचण्डले आफू सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान, सामाजिक न्याय, राष्ट्रको हितमा छिमेकी र अन्य राष्ट्रहरुसँग राम्रो सम्बन्ध कायम गर्दै दुरगामी रुपमा राज्यलाई फाइदा हुने गरी चीन र भारतसँग सहमति र सम्झौता गरेको बताउनु भयो ।

स्थानीय तह निर्वाचनको नतिजाले माओवादी केन्द्रको अवस्थामा व्यापक सुधार आएको संकेत गर्दै उहाँले माओवादी २०८४ को चुनावमा २०६४ साल फर्काउने गरी जनमत बढाउँदै गएको बताउनु भयो ।

विगतमा माओवादीले आफ्ना एजेण्डा समात्ने र आफ्नो वर्ग समुदायसँग नजिक हुने मुद्दामा केही कमजोरी गरेको स्वीकार्दै उहाँले अब त्यो गल्ती नदोहोर्‍याउने बाचा गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.