सडक किनारमा लगाइएको रुख बिरुवा जथाभावी काटिएको भन्दै स्थानीय रुष्ट

बुटवल- शहरको हरियाली र सडकको सौन्दर्यलाई बिगार्ने गरी थिनिङ्गको नाममा बुटवल उपमहानगरपालिका वडा नं. ८ मा सडक किनारमा लगाइएका रुख विरुवा अवैज्ञानिक तरिकाले काटिएको भन्दै स्थानीयले असन्तुष्टी जनाएका छन् ।

केहीदिन यता बुटवल नगरपालिकाको वडा नम्वर ८ को सडक किनारका रुख बिरुवा थिनिङ गरेकोभन्दा जथाभावी काटिएको स्थानीयको आरोप छ । स्थानीय लखन ब्रदर्स युवा क्लवले वडा कार्यालयको बजेटमा रुख विरुवा थिनिङ्ग गरेको हो ।

तर सडक सौन्दर्य र हरियाली कायम राख्न सघाएका विरुवा थिनिङ्गको नाममा निर्मम तरिकाले काटिएको भन्दै सबैतिरबाट आलोचना भैरहेको छ । थिनिङका नाममा जसरी रुख विरुवा काटिएको छ त्यसमा वडाध्यक्ष यज्ञप्रसाद पंगेनी नै सहमत हुनुहुन्न ।

जथाभावी काटेको देखेपछि कतिपय स्थानीयले त आफ्नो घर अगाडिका विरुवालाई थिनिङ गर्न दिएका छैनन् । आफूहरुले धेरै दुःख गरेर लगाएका विरुवा जथाभावी काटेकोले आफ्नो घरअगाडिका रुखहरु काट्न नदिएको बताउँदै लेखनाथ बेल्वासेले थिनिङ गर्दा वैज्ञानिक तरिकाले गर्न नसके विरुवा नै मर्ने बताउनुभयो ।

सडक र टोलको हरियाली तथा मनमोहक सुन्दरताको नमुना हेर्न धेरै आउने गरेका तर जथाभावी काटेर ठुटै बनाउँदा सुन्दरता नै हराउने स्थानीय बासिन्दाको गुनासो पनि छ ।

बिजुलीको पोलमा नभएका, सडक आवागमनमा अवरोध नपुर्याएका विरुवासमेत तलबाटैं काटिएकोमा स्थानीयले असन्तुष्टी जनाएका हुन् । बास्नेदार फूलहरुको सुगन्धले आकर्षित गर्ने अवस्थालाई वेवास्ता गरी जथाभावी काटेर पात पनि नरहने अवस्था आउनु राम्रो नभएको स्थानीय पदम श्रेष्ठको भनाइ छ ।

स्थानीय कृष्ण पाण्डेयले विरुवा काँटछाँट गरेर त्यसलाई आकर्षक गराउनु अन्यथा नभए पनि विरुवा मासिने तरिकाले नैं काटिएकोमा आफूहरुको असहमति रहेको बताउनुभयो । यहाँ झण्डै दुई सय विरुवा फडानी गरेको अनुमान छ ।

प्राविधिकले काँटछाँट गर्नुपर्ने विरुवालाई प्राविधिक ज्ञान नभएका व्यक्तिलाई थिनिङ्गको अनुमति दिइनु नैं गलत रहेको स्थानीयको भनाइ छ ।

लखन ब्रदर्स युवा क्लवमा समेत आवद्ध रहनु भएका टोल बिकास संस्थाका उपाध्यक्ष निरञ्जन पन्थ भने काटेका विरुवा पछि पलाउने भन्दै अन्यथा लिन नहुने दाबी गर्नुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.