पूर्व मेयर सिंहको निधन, काठमाडौं महानगरपालिकामा शोक विदा
काठमाडौं- काठमाडौँ महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको निधन भएको छ । उहाँको आज ८७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेपाली कांग्रेसका नेता सिंह पेटसम्बन्धी रोगको उपचारमा हुनुहुन्थ्यो ।
उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ सम्म निवास चक्सिबारीमा राखिने र त्यसपछि कांग्रेस केन्द्रीय कार्यालयमा दुई घन्टासम्म राखिने बताइएको छ । उहाँको आजै अन्त्येष्टि गरिनेछ ।
यसैबीच काठमाडौँ महानगरपालिकामा आज शोक बिदा दिएको छ । महानगरका पूर्वप्रमुख पिएल सिंहको निधन भएपछि महानगरले सूचना प्रकाशन गर्दै बिदा दिने निर्णय गरेको हो ।
महानगरले अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द हुने समेत जनाएको छ । सिंहले वि.सं. २०५२ मङ्सिर २९ गते महानगरपालिका घोषणा गर्नु भएको र महानगरलाई योगदान पुर्याएको भन्दै उहाँको सम्मानका लागि आज बिदा दिने गरी महानगरपालिका र मातहतका कार्यालयहरूमा जानकारी दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्