दुई हुलाक टिकटमा टाँचा प्रदान

काठमाडौँ– हुलाक सेवा विभागले दुई नयाँ टिकट प्रचलनमा ल्याएको छ ।
हुलाक सेवा विभागले ‘एक सय ५०औँ विश्व हुलाक दिवस’, र ‘इन्टरपोल एक सयौँ वार्षिकोत्सव’ शीर्षकका दुई टिकटमा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ र मन्त्रालयका सचिव राधिका अर्यालद्वारा टाँचा प्रदान गरिएको छ ।
सन् २०२४ का हुलाक टिकटहरूको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरिएको हो । हुलाक विभागअन्तर्गत हालसम्म एक हजार चार सय ५२ प्रकारका हुलाक टिकट छापिसकेको छ । आज टाँचा प्रदान गरिएका हुलाक टिकट रु १० दरका १०÷१० लाख प्रकाशनमा ल्याइएका विभागले  जनाएको छ ।
विश्वस्तरमा हुलाक सेवा र संरचनाको नेतृत्व गर्ने विश्व हुलाक सङ्घ (युपियू) को स्थापना सन् १८७४ अक्टोबर ९ मा भएको हो । यसमा नेपालसहित एक सय ९२ सदस्य राष्ट्र छन् । सङ्घको स्थापनाका अवसरमा प्रत्येक वर्ष अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाउने गरिन्छ ।
यस्तै, सन् १९२३ सेप्टेम्बर ७ मा इन्टरनेसनल क्रिमिनल पोलिस अर्गनाइजेसन (इन्टरपोल) को स्थापना भएको हो । अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध, आतङ्कवाद, लागुऔषध, मानव बेचबिखनलगायत सीमापार हुने बहुआयामिक तथा सङ्गठित अपराध नियन्त्रण तथा रोकथामका लागि विश्वव्यपी रूपमा प्रहरी सङ्गठनहरूलाई एकबद्ध गर्ने उद्देश्यला स्थापना भएको जनाइएको छ ।
टिकट टाँचा प्रदानपछि मन्त्रालयका सचिव अर्यालले हुलाक विभागको ऐतिहासिक र सांस्कृतिक महत्व रहेको बताउनुभयो । दुई वर्षअघि विदेशबाट हुलाक टिकट छाप्नुपर्ने अवस्था सम्झाउँदै उहाँले सुरक्षण मुद्रण केन्द्रलाई व्यवस्थित गरेर राष्ट्रिय सुरक्षाका अरू कागजातहरू पनि स्वदेशमै छाप्ने तयारी मन्त्रलायले गरिरहेको जानकारी दिनुभयो । “हामीले अब आफ्नै छापाबाट टिकटदेखि रुपैयाँसम्म छाप्नुपर्छ भनेर लागेका छाँै”, सचिव अर्यालले भन्नुभयो ।
उहाँले केही हुलाक टिकट राजनीतिक परिवर्तनका कारण प्रचलनमा ल्याउन नमिल्ने खालका रहेको जानकारी गराउँदै ती टिकटलाई सङ्ग्रहालयमा सुरक्षित राख्न हुलाक विभागलाई निर्देशन दिनुभयो । उहाँका अनुसार हुलाक टिकट समय, काल र इतिहासको समेत साक्षी हुने हुँदा भावी पुस्ताका लागि टिकट अनुसन्धानको मुख्य आधार हुनसक्ने बताउनुभयो ।
हुलाक विभागका महानिर्देशक मनमाया पँगेनी भट्टराईले हुलाकका समस्या र चुनौती अध्ययन गर्दै आधुनिक हुलाक बनाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.