टोड्केमा पर्यटकलक्षित पार्क बन्यो, पुगेनन् पर्यटक

म्याग्दी– म्याग्दीको तीन वटा स्थानीय तहको सङ्गम स्थलमा अवस्थित पर्यटकीय क्षेत्र टोड्केमा बनाइएको पर्यटकलक्षित पार्क सुनसान बनेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढाउने उद्देश्यसहित जिल्लाको बेनी नगरपालिका, मङ्गला र रघुगंगा गाउँपालिकाको सिमानामा पर्ने टोड्केमा बनाइएको पार्क ओझेलमा परेको हो ।

रघुगंगा–५, झिँ गाउँको सिरानमा रहेको टोड्केको भ्रमणमा आउने पर्यटकहरूलाई लक्षित गरिएको भए पनि यो पार्क अहिले अलपत्र अवस्थामा पुगेको छ । एक करोडभन्दा बढी लागतमा बनाइएको पार्क बेवारिसे जस्तै बनेको छ । पर्यटकीय मौसममा समेत पार्क सुनसान देखिन्छ । पार्कको संरक्षण, उचित प्रचारप्रसार तथा पार्कसम्म पुग्ने सडकको सुधार नहुँदा पर्यटकीय सिजनमा पनि पर्यटकहरू पुग्न सकेका छैनन् ।

स्थानीय सरकारले पार्कको संरक्षण नगर्दा अहिले पार्क बेवारिसे अवस्थामा पुगेको टोड्केका स्थानीयवासी बताउँछन् । दुई वर्षअघि पर्यटन विभाग र रघुगंगा गाउँपालिकाको लागत साझेदारीमा झिँ गाउँको सिद्ध सामुदायिक वन क्षेत्रमा एक करोड एक लाख रुपैयाँको लागतमा पार्क बनाइएको थियो । पार्क निर्माण भए पनि सोचेअनुसार पर्यटकहरू आउन नसकेको टोड्के हिल रिसोर्ट प्रालिले जनाएको छ । स्थानीय सरकारले पार्कको भौतिक संरचनाको संरक्षणमा समेत ध्यान दिन नसक्दा अहिले पार्क जीर्ण बन्दै गएको छ ।

पर्यटकीय स्थल टोड्केको भ्रमणमा पुग्ने पर्यटकहरूलाई लक्षित गरी रघुगंगा गाउँपालिकाले पार्क निर्माण गरेको भए पनि पर्यटकीय गन्तव्य बन्न नसकेको झिँका वडाध्यक्ष मनबहादुर शेरमञ्जाले बताउनुभयो । पर्यटन विभागको ७० लाख र गाउँपालिकाको ३१ लाख रुपैयाँसहित एक करोड एक लाख रुपैयाँको लागत अनुमान गरिएकोमा खुसी होम बिल्डर्स प्रालिले ६६ लाख ३२ हजार ८७ रुपैयाँको लागतमा ठेक्का सम्झौता गरी पार्क बनाएको थियो । पार्क परिसरभित्र ५ वटा विश्राम स्थल (प्रतीक्षालय), एक वटा फाउन्टेन (पानी फ्याँक्ने फोहोरा) र एउटा शौचालयको लागि भवन निर्माण गरिएको वडाध्यक्ष शेरमञ्जाले जानकारी दिनुभयो ।

पर्यटकहरूलाई लक्षित गरेर जङ्गलको बिचमा खाली रहेको ठाउँलाई उपयोग गरी पदमार्ग समेत निर्माण गरिएको छ । पार्कभित्र रेलिङसहितको १ सय ८२ मिटर लामो पदमार्ग पनि बनाइएको छ । महेन्द्र माध्यमिक विद्यालय झिँदेखि २ सय ४० मिटर रेलिङसहितको पदमार्ग निर्माण गरिएको वडा कार्यालयले जनाएको छ । पार्कमा विभिन्न प्रजातिका फूलहरू रोप्ने योजना भए पनि अहिलेसम्म कुनै फलफूल र बोटबिरुवाहरू रोपिएको छैन । झिँ गाउँदेखि पर्यटकीय क्षेत्र टोड्केसम्म जाने सडक र पदमार्ग निर्माण गरिएको छ ।
जङ्गलभित्रको पार्क शान्त वातावरणमा मनोरञ्जन लिनेहरूका लागि उपयुक्त रहे पनि प्रचारप्रसार र पार्कको संरक्षणमा स्थानीय तहले ध्यान नदिँदा लगानी खेर गएको टोड्केको भ्रमणमा पुग्ने पर्यटकहरू बताउँछन् । समुन्द्री सतहदेखि २५ सय मिटरको उचाइमा रहेको टोड्केबाट धौलागिरि, माना पाथी, निलगिरी, अन्नपूर्ण र माछापुच्छ्रेलगायत मनोरम हिमश्रृङ्खलाहरुको दृश्यावलोकन गर्न सकिन्छ ।
बिहान सबेरैको सूर्योदय, लालीगुराँसको जङ्गल, पहाडी भूगोल र मगर समुदायको कला तथा संस्कृतिको समेत अवलोकन गर्न टोड्के उपयुक्त गन्तव्य स्थल मानिन्छ । तर टोड्के पुग्नका लागि सडकको स्तरोन्नति हुन नसक्दा पर्यटक आगमन बढ्न नसकेको टोड्के हिल रिर्सोट प्रालिका संस्थापक÷सञ्चालक भीम शेरचनले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.