पाँच दिने भक्तपुर महोत्सव सम्पन्न
भक्तपुर –पाँच दिने भक्तपुर महोत्सव सम्पन्न भएको छ । पाँच दिन सम्म चलेको महोत्सवमा भक्तपुरका ३२ स्थानमा स्थानीयले आ-आफ्नो परम्परागत शैली प्रस्तुत गरेका थिए । महोत्सव समापनका अवसरमा कलाकार, व्यवसायी, शिक्षक विद्यार्थी तथा स्थानीयले आफ्नो सीप क्षमता, कला एवं विभिन्न सांस्कृतिक प्रस्तुत गरेका थिए ।
समापन समारोहलाई सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले जनताको उत्साह महोत्सवले उजागर गरिदिएको बताउनु भयो । यसरी महोत्सव आयोजना गर्दा स्थानीयमा उत्साह मात्रै नभएर आफ्नो कला संस्कृति लोप हुन नपाउने धारणा राख्नु भयो ।
अध्यक्ष बिजुक्छेले अरूको भर पर्दा आफ्नो खुट्टामा उभिन नसक्ने र आफ्नो संस्कार संस्कृति लोप हुनै जाने भएकाले बेला बेला यस्ता कार्य गर्दै जानुपर्ने बताउनु भयो ।
कार्यक्रममा बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईंले सामुदायिक कार्यमा निःस्वार्थ भावनाबाट जनताको सक्रियता र सौहार्दताका साथ महोत्सव उल्लासमय वातावरणमा सम्पन्न भएको धारणा राख्नु भयो । नेपालको मौलिक संस्कृतिलाई विश्वसामु ऐतिहासिक सन्देश प्रस्तुत भएको र नयाँ पुस्तान्तरण तथा हस्तान्तरणको रोचक संयोजन महोत्सवले गरिदिएको दाबी नगरवासीले गरेका छन् ।
कार्यक्रमका सभापति तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अग्रज पुस्ताको सपना पुरा गर्न भक्तपुर नगरपालिका अघि बढेको बताउनु भयो । जनताको साथ र हातेमालोबाट जनताकै उद्देश्य अनुरूप महोत्सव सभ्य र भव्य रूपमा सफल भएको उहाँको दाबी छ ।
कार्यक्रममा चिनियाँ राजदूत छन् सोङले नेपाल र चीनबिच सदियौँ पुरानो मित्रता रहेको भन्दै यस्ता गतिविधिले अझ मित्रता उचाइमा पुग्ने बताउनु भयो । भक्तपुरको जीवन्त कलाको सहरमा उपस्थित हुन पाउँदा खुसी व्यक्त गर्नु भयो । चिनियाँ कला संस्कृति र नेपालको कला संस्कृति एकै मञ्चमा देख्न पाउँदा हर्षित भएको बताउनु भयो । हालै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले थप सहकार्यमा भूमिका खेलेको धारणा राख्नु भयो । अर्को वर्ष चिनियाँ कलाकार र नेपाली कलाकारकोबीच भव्य कार्यक्रम हुने जिकिर गर्नु भयो ।
विदेशी विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको उक्त कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले नगरवासीको उत्साह, साथ र आफै संस्कृतिको रक्षक भएर कला प्रस्तुत गरेको देख्दा चकित भएको धारणा राख्नु भयो ।
भक्तपुर बासीले संस्कृतिका क्षेत्रमा उल्लेख्य कार्य गरेको भन्दै नगर बासीको प्रशंसा गर्नु भयो । हरेक साँझ मन्दिर, पोखरी, चोक, चोकमा दीपावली गरेर भक्तपुर महोत्सव सफल पार्न ५ सय ७५ जना स्काउट परिचालन भएको स्थानीय स्काउट आयुक्त बालकृष्ण बन मालाले बताउनु भयो ।
नेपाल कति सुन्दर र समृद्ध छ भन्ने कुराको उदाहरण विदेशीले भक्तपुर महोत्सवबाट पनि पहिचान गरेको स्थानीयको भनाइ छ । स्थानीय सरकारले जनताको साथमा यस्ता गतिविधि गर्दा विश्व समुदायमा नयाँ सन्देश प्रसारित भएको उनीहरूको ठहर छ ।
प्रतिक्रिया राख्नुहोस्