देशको संकट समाधान गर्न दुई ठुला दलको सरकार: सञ्चार मन्त्री गुरुङ
लमजुङ- नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको संकट समाधानका निम्ति देशका दुई ठुला पार्टीहरुबीच गठबन्धन भएको बताउनुभएको छ ।
गृहजिल्ला लमजुङको क्व्होलासोथार गाउँपालिका प्रशासकीय भवन उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरुङले मुलुकमा अस्थिर सरकार र अस्थिर राजनीतिले देश खोक्रो भइसकेकोले त्यो संकटबाट पार गर्न छुट्टाछुट्टै नीति र पृष्ठभुमी भएका कांग्रेस र एमाले मिलेर सरकार बनेको मन्त्री गुरुङको भनाइ थियो ।
मन्त्री गुरुङले अहिलेको सरकारको प्राथमिकता पनि सुशासन भएको दाबी गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल, संविधान सभा सदस्य जमिन्द्रमान घले, प्रदेश सभा सदस्य पार्वती तामाङ, यशोधा रिमाल लगायतले सम्बोधन गर्नुभएको थियो ।
स्थानीय तह गठन भएको सात वर्षपछि क्व्होलासोंथार गाउँपालिकाको प्रशासकीय भवन निर्माण भएको हो । भवन नहुँदा सेवा प्रवाहमा समस्या भोग्दै आएको गाउँपालिकाले अब आफ्नै भवनबाट एकिकृत सेवा प्रवाह गर्ने गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले जानकारी दिनुभयो ।।
प्रतिक्रिया राख्नुहोस्