लुम्बिनीमा २ वटा विद्युतीय बस नि:शुल्क सञ्चालन

रूपन्देही- लुम्बिनी विकास कोषले कानुनी उल्झनका कारण सञ्चालन गर्न नसकेका ५ वटा मध्ये २ वटा बस आजदेखि सञ्चालनमा ल्याएको छ ।

एसियाली विकास बैंकको अनुदान सहयोगमा बृहत्तर लुम्बिनी क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकलाई सेवा दिने उदेश्यले ल्याइएका मध्ये २ वटा बस परीक्षणका लागि सञ्चालन शुरु गरिएको हो ।

एसियाली विकास बैंकको अुनदान सहयोगमा ५ वटा बस र १४ वटा विद्युतीय भ्यान संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले २०७९ साल जेठ १२ गते हस्तान्तरण गरेको थियो ।

मन्त्रालयले सेतो नम्बरप्लेटमा बस र भ्यान हस्तान्तरण गरेपछि पर्यटक सेवाका लागि हरियो नम्बर प्लेट बनाउने कानुनी उल्झनका कारण बस र भ्यान सञ्चालनमा आएका थिएनन ।

दाताले दिएको बस पर्यटक सुविधाका लागि सञ्चालन नगरेको भन्दै सर्वत्र आलोचना भएपछि कोषले विहीबारदेखि परीक्षण स्वरुप बसमा दानपेटिका राखेर सञ्चालन शुरु गरेको हो ।

रुपन्देही क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे), प्रदेशका पूर्वमन्त्री एवम् प्रदेश सांसद सिके गुप्ता, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले विद्यतुीय बसको शुभारम्भ गर्नुयो।

बुटवलदेखि भैरहवा एयरपोर्ट हुँदै बुद्धजन्मस्थल लुम्बिनीसम्म र बेलहियाबाट एयरपोर्ट हुँदै लुम्बिनीको रुटमा बस सञ्चालन हुनेछ । बस चढ्ने यात्रुले स्वेच्छिक रुपमा दानपेटिकामा रकम दिन सक्नेछन् । तर बसभाडा भनेर पैसा लिइनेछैन ।

बस सेवाको परीक्षण सञ्चालन शुभारम्भमा सांसद घिमिरेले कानुनी अभावका कारण सञ्चालनमा नआएको विद्युतीय बस दिगो रुपमा सञ्चालन हुने बताउनुभयो।

उहाँले लुम्बिनी विकास कोषले बस सञ्चालन गर्दा आफ्नो सम्पत्तिको सदुपयोग गरेको ठहर हुने बताउँदै यसको मोडालिटिले यात्रुलाई सेवा दिने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले अहिले परीक्षण स्वरुप दानपेटिका राखेर २ वटा बस सञ्चालन गरिएको बताउनु भयो । उपाध्यक्ष डा. लामाले सेतो नम्बर प्लेटलाई हरियो बनाउन आफूहरुले पटक पटक पहल गर्दा पनि नभएको बताउँदै अहिले संघीय मन्त्री, मुख्यमन्त्री र सांसदहरुले समेत सञ्चालनका लागि निर्देशन गरेपछि यात्रुसँग पैसा नलिनेगरी दानपेटिकाको विधि मार्फत सञ्चालन थालिएको बताउनु भयो ।

यस्तै पूर्वमन्त्री एवम् लुम्बिनीका प्रदेश सदस्य सिके गुप्ताले विद्युतीय बस सञ्चालनमा आउनु निकै खुशीको कुरा भएको बताउँदै निरन्तरताको शुभकामना दिनुभयो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले दाताले दिएको विद्युतीय बस सञ्चालनका लागि प्रशासनका तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो। उहाँले बसको सुरक्षाका लागि आवश्यक प्रवन्ध गर्ने बताउनु भयो ।

सिद्धार्थ होटल एसोसिएशनका अध्यक्ष चन्द्रप्रकाश (सिपि) श्रेष्ठ, लुम्बिनी होटल व्यवसायी संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले पर्यटक सेवाका लागि ल्याइएको बस सञ्चालन हुँदा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यसअघि पनि लुम्बिनी विकास कोषले २०७९ असोज १३ देखि कार्तिक १३ गतेसम्म ‘धम्म यात्रा’ नाम दिएर बृहत्तर लुम्बिनी क्षेत्रमा निशुल्क रुपमा यान्त्रिक परीक्षणका लागि विद्युतीय बस सञ्चालन गरेको थियो ।

बौद्ध परिपथका क्षेत्रबाट २० हजार २ सय ३६ जना यात्रुले नि:शुल्क धम्म यात्रा नामक विजुली बसको सेवा लिएका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.