झण्डै १९ महिनापछि पत्रकार महासंघ गुल्मीमा लागेको ताला खुल्यो

गुल्मी- नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको कार्यालयमा लागेको ताला खुलेको छ । शुद्धीकरण पछि सदस्यता विवादका कारण असार २०८० मा लगाइएको ताला सहमति पछि (बिहिबार) खुलेको हो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीमा नवनिर्वाचित कार्यसमिति आएपछि दुवै पक्षको सहमतिमा ताला खुलेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका सचिव सन्तोष महताराले जानकारी दिए ।

पत्रकारितामा क्रियाशील भएका कोही छुटेको भएमा र मापदण्ड पुरा गरेका क्रियाशील पत्रकारलाई सदस्यता प्रदान गर्ने सहमतीपछि दुवै पक्षको सहभागितामा ताला खुलाइएको हो ।

गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीमा अनिल खत्रीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो । नवनिर्वाचित कार्यसमितिले महासंघको कार्यालयमा लागेको ताला खुलाउन आन्दोलनरत पक्षसँग निरन्तर संवाद गरेको थियो । संवादले बिहिबार दिउँसो मूर्तरुप लिएको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले आफूहरु पनि महासंघको काममा अवरोध गर्ने उद्देश्य नरहेकोले छलफलबाट नै निष्कर्ष निकाल्न चाहेको बताउनुभयो ।

उहाँले नियतबस सदस्यबाट हटाएकोमा आपत्ति जनाउँदै अब मिलेरै काम गर्ने बताउनुभयो । संस्थापक अध्यक्ष श्रेष्ठले क्रियाशील र मापदण्ड पुगेका पत्रकारलाई सदस्यता तथा संस्थापकलाई मानार्थ सदस्यता दिने गरी सहमती भएपछि आफुहरुले ताला खोलेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका नवनिर्वाचित अध्यक्ष अनिल खत्रीले सबैसँग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । आन्दोलनरत पक्षको स्वागतयोग्य निर्णयलाई उच्च सम्मान गर्दै अब महासंघले सहमती, सहकार्य र एकताबाटै काम गर्ने बताउनुभयो ।

महासंघमा नवनिर्वाचित कार्यसमितिले तालाबन्दीकै कारण पदभार ग्रहण गर्न पाएको छैन् । तालाबन्दी खुलेसँगै महासंघले पदभारको कार्यक्रम गर्ने तयारी गरेको छ ।

पत्रकार महासंघ गुल्मीमा शुद्धिकरण पश्चात २५ जना साधारण सदस्य रहेका छन् । सदस्यता बिवादले पत्रकार महासंघ गुल्मीको सातौं जिल्ला अधिवेशन आफ्नै भवनमा हुन सकेको थिएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.