पर्यटन प्रर्वद्वन मार्फत स्थानीयको आर्य आर्जमा टेवा पुर्याउन मध्यपुर महोत्सव हुँदै
भक्तपुर – स्थानीय सम्पदालाई रोजगारी एवं आयआर्जनसँग जोडेर अर्थतन्त्रलाई थप गतिशील र प्रगतिशील बनाउने उद्देश्यले यही पुस १२,१३ र १४ गते मध्यपुर महोत्सव आयोजना गरिएको छ ।
मौलिक कला, संस्कृतिलाई केन्द्रमा राखेर महोत्सव मार्फत जीवन्त र दीगो पर्यटनमुखी बनाउन यसो गरिएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनु भयो ।
तीन दिनसम्म चल्ने महोत्सवको मूल उद्देश्य मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गरी दीर्घकालीन रूपमा नगर र नगर बासीको आर्थिक समृद्धिमा टेवा पुर्याउनु रहेको नगरपालिकाले जनाएको छ । नगरका विभिन्न स्थानमा करिब ४ सय स्टल रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
स्थानीय मौलिक २५ वटा नाचहरू प्रदर्शन, २६ बाजागाजा प्रदर्शनी हुने, भगवान् गौतम बुद्धको अस्तु धातु, चपाचोको पाटी, विहार र नग देशको बुद्ध विहारमा प्रदर्शन, थिमि भैलः ताहननीको डमीसँग सेल्फी लिन सक्ने, जिब्रो छेड्ने जात्राको प्रतिमूर्तिसँग फोटो खिच्न पाइने, लिच्छवीकलादेखि हालसम्मको नेपाली मुद्रा र सिक्का, माटोको करिब ५ फिट अग्लो सु कुन्दा, नेपालको पहिलो माटोको हिटर आशा हिटरको मौलिक ढोका, टिगनीमा टिकनबजीको जीवन्त प्रदर्शनी, नग देशमा सुनको झ्याल, बालकुमारीमा गेडागुडी, नेवारी संस्कृतिमा जन्मदेखि मृत्युसम्मका संस्कार र अन्य चाडपर्वमा उपयोग हुने भोजका परिकारहरू आदि महोत्सवमा प्रदर्शन गरिने बताइएको छ । यसका साथै महोत्सवको निःशुल्क यातायातबाट अवलोकन गर्न सकिने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनु भयो ।
महोत्सवको संयोजक समेत रहनु भएका श्रेष्ठले महोत्सव अवधिभर करिब २० वटा गाडी निःशुल्क सञ्चालन गरिने बताउनु भयो । नगर भित्र खाँदिएर रहेका स्थानीय कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रदर्शन गर्ने, नगर बासीको मौलिक पेसा, परिकार र उत्पादनको प्रवर्द्धन गर्ने, मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा परिचित गराउने, समय समयमा हुने ऐतिहासिक जात्रा पर्वहरूको महोत्सवमा विशेष जनाकारी गराइने, शंखधरचोक देखि नग देश र बोडै हुँदै तिगनिको नीलबाराही स्थानसम्मका ऐतिहासिक क्षेत्र तथा बस्तीहरूलाई महोत्सव प्रदर्शनी स्थलका रूपमा विकास गरिने नगरप्रमुख श्रेष्ठले बताउनु भयो ।
महोत्सव व्यवस्थापनका लागि करिब एक करोड अनुमानित बजेटको लाग्ने र टोल टोलमा विभिन्न संघ संस्थाहरूले व्यवस्थापनको जिम्मेवारी लिने जानकारी दिनु भयो ।
महोत्सव मौलिक हुने भन्दै मध्यपुरको टिगनी परम्परागत शैलीमा चिउरा कुट्ने प्रविधि र उत्पादनलाई जीवन्तता प्रधान गरिने उहाँको भनाइ छ ।
विगत ३५ वर्ष देखि लोप भएको टिगनी बजीको इतिहास किताबमा मात्रै सीमित भएकाले यसलाई जीवन्त पार्न महोत्सव मार्फत टिगनी बजीको पुस्तान्तरण गरिने नगरपालिकाले जनाएको छ । श्रेष्ठले भन्नु भयो, ”युवा पुस्तामा यो परम्परालाई पुस्तान्तरण गर्न महोत्सवमा प्रदर्शन गछौं । त्यसको लागि आवश्यक पुराना औजारहरूको खोजीनिती समेत गरिसकिएको छ ।मेलाको तयारी पुरा भइसकेको छ ।’ टिगनीमा परम्परागत शैलीमा चिउरा कुट्ने, बोडे र दिगुलीमा जिब्रो छेड्ने जात्राको डमी प्रदर्शन, दिग्लीमा ५ फिट अग्लो माटोको सु कुन्दा प्रदर्शनी, माटोको हिटरको ढोका निर्माण, नेवारी संस्कृतिमा जन्मदेखि मृत्युसम्म र विभिन्न चाडपर्व तथा अवसरमा खाने भोज भतेरको परिकार प्रदर्शन, बालकुमारीमा रैथाने गेडागुडी प्रदर्शन, बुद्धको अस्तु धातु, लिच्छवीकाल देखीका मुद्रा प्रदर्शनी र दैनिक जीवनमा प्रयोग हुने माटोका भाँडाकुँडाको जीवन्त प्रदर्शनी रहने छन् ।
प्राचीन सम्पदाहरू महोत्सवका प्रमुख आकर्षणका रूपमा रहेको जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्