नयाँ शिक्षा नीतिको तयारीमा सरकारः प्रवक्ता
कास्की- सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार नयाँ शिक्षा नीति ल्याउने तयारीमा रहेको बताउनुभएको छ ।
कास्कीको भिंडाबारीस्थित बराह माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् बराह प्राविधिक शिक्षालयको रजत महोत्सव वर्ष शुभारम्भ समारोहको उद्घाटन गर्नुहुँदै मन्त्री गुरुङले हाल कार्यान्वयनमा रहेको शिक्षा ऐनमा आमूल परिवर्तन गरी सरकारले छिट्टै नयाँ शिक्षा नीति ल्याउने स्पष्ट्र पार्नुभयो ।
सरकार शिक्षालयहरुलाई सीप प्रविधि सिकाउने थलोका रुपमा विकास गर्न चाहान्छ, शिक्षालयमार्फत नागरिकहरु स्वरोजगार बनुन् भन्ने सरकारको ध्येय छ, शिक्षालाई आय आर्जनसँग जोड्नु पर्दछ, त्यसैअनुसार नै अवको शिक्षा नीति आउछ उहाँले भन्नुभयो ।
अवसरवादी प्रवृतिका कारण देशमा सोचेअनुसार विकास नभएको तर्क गर्नुहुँदै मन्त्री गुरुङले मुलुकलाई संकटबाट जोगाउन वर्तमान् सरकार प्रयासरत् रहने स्पष्ट पार्नुभयो ।
मन्त्री गुरुङले सरकारले नेपालमै राहदानी, पैसा, अन्तःशुल्क स्टीकर, हुलाक टिकट लगायत जग्गाधनी प्रमाण पुर्जा छपाईका लागि आवश्यक पर्ने सूचना प्रविधि विकास गर्न खोजिरहेको जनाउनु हुँदै त्यसमार्फत देश समृद्धिको मार्गतर्फ अगाडि बढ्ने धारणा राख्नुभयो । देश र जनताको भलो चिताएर कार्य गर्न उहाँले शिक्षक, कर्मचारीलाई निर्देशन समेत दिनुभयो ।
त्यस अवसरमा गण्डकी प्रदेशसभा सदस्य गणेशमान् गुरुङ, माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, सिटिइभिटीका पूर्व प्रमुख टंकनाथ शर्मा, प्रधानाध्यापक सुरेश गुरुङ लगायतले पनि धारणा राख्नुहुँदै प्राविधिक शिक्षाको महत्व माथि प्रकाश पार्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्