सिद्धार्थ राजमार्ग सुन्तलाले पहेँलै (फोटो फिचर)
स्याङ्जा- स्त्तरोन्नतीको पर्खाईमा रहेको सिद्धार्थ राजमार्ग यतिबेला पहेँलै बनेको छ । राजमार्गमा यात्रा गर्ने स्वदेशी र बिदेशी पर्यटकलाई लक्षित गर्दै बेच्न राखिएका सुन्तलाले स्याङ्जाको पहिचान झल्काएको छ भने व्यवसायीको घर खर्च समेत चलाएको छ ।
राजमार्गमा यात्रा गर्ने यात्रु चाहे भारतीय हुन् या नेपाली राजमार्ग छेउछाउमा राखिएका स्याङ्जाको सुन्तला नखाई अगाडी बढ्न कसैको मनले मान्दैन । स्याङ्जाको हेलुदेखि-जैसीडाँडासम्म सुन्तला व्यापारीले घरखर्च मात्र चलाएका छैनन्, स्याङ्जाको पहिचान समेत स्थापित गरेका छन् ।
राजमार्गमा बेच्न राखिएका सुन्तला प्रति केजी ७० देखि १ सय २० सम्म विक्री हुने गरेको छ । तर यस वर्ष भने सुन्तलामा कालो दाग देखिएकोले सुन्तला विक्रीमा समस्या भएको व्यसायीको गुनासो छ ।
स्याङ्जामा वर्षेनी एक अर्ब भन्दा बढिको सुन्तला विक्री हुँदै आएको छ । जिल्लामा २२ सय ५० हेक्टर जमिनमा सुन्तला लगाईएको छ भने १३ सय ७० हेक्टर उत्पादनशिल रहेको सुन्तला सुपर जोनको भनाई छ ।
पछिल्लो समय जोनको प्रभावकारी कार्यक्रमको कारण युवाहरु गाउँ फर्केर सुन्तला खेतीतर्फ आकर्षित हुन थालेका छन् । एकपटक लगाएर राम्रो सँग हेरचाह गर्न सक्ने हो भने ३-४ वर्षमै लाखौँको उत्पादन हुने हुँदा युवाहरुको यो खेतीतर्फ आकर्षण बढेको हो ।
तर, स्याङ्जाको सुन्तला चिन निर्यात गर्ने चर्चा चलेको धेरै वर्ष भएपनि प्राविधिक समस्याको कारण व्यवहारमा लागू हुन सकेको छैन । यदि राज्यले प्राविधिक पक्षलाई सुधार गर्ने निति ल्याएर यहाँको सुन्तला चिन निर्यात गर्ने हो भने स्याङ्जामात्र होईन मुलुकको अर्थतन्त्र समेत बलियो हुने सुन्तला विज्ञहरुको बुझाई छ ।
प्रतिक्रिया राख्नुहोस्