जीविकोपार्जन सहज बनाउन सरकार केन्द्रीत: उपप्रधानमन्त्री सिंह
कास्की- उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारको ध्यान जनताको जीविकोपार्जन सहज बनाउनेतर्फ रहेको बताउनुभएको छ ।
कास्कीको भदौरेमा आयोजित भदौरे पञ्चासे कोदो महोत्सव तथा ल्होसार मेलाको हिजो समापन गर्नुहुँदै मन्त्री सिंहले सरकारले सङ्घीय कानुन निर्माणमा तीव्रता दिइरहेको पनि औँल्याउनुभयो।
पछिल्लोपटक प्राप्त उपलब्धि सुरक्षित गर्दै संस्थागत गर्ने दायित्वमा सरकार अविचलित रहेको जनाउनुहुँदै मन्त्री सिंहले अहिलेको गठबन्धन सरकार जनताको पक्षमा दृढ भएर लागि परेको दावी समेत गर्नुभयो ।
मन्त्री सिंहले पञ्चासे क्षेत्र धार्मिक पर्यटकीय क्षेत्र भएको स्पष्ट पार्नुहुँदै त्यहाँको वृद्धि विकासमा सरकार तत्पर रहेको जनाउनुभयो । पञ्चासे क्षेत्रमा पदमार्ग निर्माण, जैविक विविधता संरक्षण, भदौरे क्षेत्रमा सामुदायिक भवन निर्माण गर्न सरकार प्रतिबद्ध छ उहाँले भन्नुभयो ।
कोदो स्वास्थ्यका लागि महत्त्वपूर्ण खाद्यान्न भएको औँल्याउनुहुँदै मन्त्री सिंहले मेला महोत्सवले देशकै अर्थतन्त्रमा टेवा पुग्ने जनाउनुभयो ।
त्यस अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बराल, गण्डकी प्रदेशसभा सदस्य प्रकाश बराल लगायतले मेला महोत्सवको महत्वमाथि प्रकाश पार्नुभयो।
त्यहाँ स्थानीय भदौरे क्लबको आयोजनामा यही पुस ३ गतेदेखि मेला भएको हो ।
प्रतिक्रिया राख्नुहोस्