आठौँ म्याग्दी महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता

म्याग्दी– ‘उद्योग, व्यापार र कलाको विकास गरौँ, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गरौँ’ भन्ने मूल नारासहित आयोजित आठौँ म्याग्दी महोत्सवमा स्थानीय उत्पादनहरूलाई निःशुल्क रूपमा स्टल दिइने भएको छ । म्याग्दीको सदरमुकाम बेनीमा यही पुस २८ देखि माघ ८ गतेसम्म चल्ने म्याग्दी महोत्सव एवम् माघे सङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०८१ मा जिल्लाको उत्पादनहरू प्रदर्शन गर्न लागिएको हो ।

म्याग्दी जिल्लामा उत्पादन हुने वस्तुको बिक्री र प्रदर्शनी गर्न निःशुल्क स्टल दिइने महोत्सवको मूल आयाजक संस्था म्याग्दी उद्योग वाणिज्य सङ्घले जनाएको छ । महोत्सवमा म्याग्दी जिल्लामा उत्पादित कृषिजन्य उत्पादन, जडीबुटी, लघु तथा घरेलु उद्योगका सामानहरू बिक्री, वितरण गर्नुका साथै प्रदर्शनी गरिने भएको छ । जिल्लामा उद्योग तथा व्यवसाय गरिरहेका व्यापारीहरूलाई स्टलमा पहिलो प्राथमिकता दिइएको म्याग्दी महोत्सवका मूल संयोजक एवं म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुनिन श्रेष्ठले बताउनुभयो ।

म्याग्दीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने र उत्पादन भएका स्थानीय उत्पादन र वस्तुहरूको बिक्री, वितरण गर्नको लागि स्टलहरू निःशुल्क रूपमा उपलब्ध गराइनेछ । यस पटकको महोत्सवमा सबै प्रकारको व्यापारमा स्थानीयलाई पहिलो प्राथमिकता दिइएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । जिल्लाको ६ वटै स्थानीय तहमा उत्पादन हुने कृषि, हस्तकलालगायत साना तथा मझौला उद्यमीहरूले निर्माण गरेका सामग्रीहरूको बिक्री तथा प्रदर्शनीका साथै उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
स्थानीय उत्पादनको बजार प्रवर्द्धन, कला र संस्कृतिको संरक्षण, पर्यटन प्रवर्द्धन, कृषि, जलविद्युत, खनिज र पशुपालनका क्षेत्रको सम्भावनाहरू उजागर गरी लगानी भित्र्याउन तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यलाई केन्द्रित गरी महोत्सवको तयारी अगाडि बढाइएको सङ्घका महासचिव नारायण जिसीले जानकारी दिनुभयो । महोत्सवमा जिल्लाका पर्यटकीय क्षेत्रहरूको व्यापक रूपमा प्रचारप्रसार गर्ने तयारी भइरहेको र विश्वभर विभिन्न क्षेत्रबाट चिनिएका व्यक्तिहरूलाई समेत सम्मान गर्ने कार्यक्रम बनाइएको सङ्घका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

महोत्सवमा हेलिकप्टरमार्फत जिल्लाको विभिन्न क्षेत्रको अवलोकनका लागि पर्यटकीय, धार्मिक र ऐतिहासिक स्थलहरूमा भ्रमण गराइने भएको छ । महोत्सवमा खुल्ला लोक तथा दोहोरी गीत, गण्डकी प्रदेशस्तरीय अन्तर पालिका पुरुष तथा महिला भलिबल, प्रदेश भित्रको वडा स्तरीय बास्केटबल, खुल्ला रत्यौली, भजन, पुर्ख्यौली नाच, म्याग्दी आइडल एकल लोकनृत्य प्रतियोगिता र विभिन्न जातजातिहरूको झाँकी प्रदर्शनी गरिनेछ । यसै गरी महिला÷पुरुष छेलो फ्याँक्ने, लठो तान्ने प्रतियोगिता पनि सञ्चालन हुनेछ ।

महोत्सवका लागि कुल एक करोड ३४ लाख २९ हजार आम्दानी र एक करोड २९ लाख १८ हजार नौ सय १४ रुपैयाँ खर्च हुने बजेट प्रस्ताव गरिएको छ । महोत्सवबाट म्याग्दी उद्योग वाणिज्य सङ्घलाई पाँचखाल १० हजार ८६ रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको छ भने महोत्सव अवधिभरमा म्याग्दी क्षेत्रभित्र झन्डै १० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान छ । म्याग्दी महोत्सव सफलतापूर्वक सम्पन्न गर्नका लागि विभिन्न ३७ वटा उपसमितिहरू गठन गरी आवश्यक तयारी तीव्र बनाइएको सङ्घका महासचिव जिसीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.