विदुरमा प्याज पकेट कार्यक्रम सञ्चालन
–नगरलाई प्याजमा आत्मनिर्भर बनाइने
नुवाकोट- नुवाकोटको विदुर नगरपालिकाले प्याजमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ विशेष कार्यक्रम सञ्चालन गरिएको छ । १३ वटा रहेको पहाडी संरचनाको विदुर नपा मा ‘प्याज पकेट’ कार्यक्रम सञ्चालन गरिएको हो ।
यसअघि परीक्षणको सुरु गरिएको उक्त कार्यक्रमलाई चालु आर्थिक वर्षदेखि विदुर नपा ७ मा व्यावसायिक उत्पादन गरी विदुर नगरलाई प्याजमा आत्मनिर्भर बनाउने लक्ष्य लिइएको मेयर राजन श्रेष्ठले जानकारी दिनुभयो । उहाँले विदुर नगरपालिका लाई प्याजमा आत्मनिर्भर बनाउँदै किसानको आर्थिक उपार्जन वृद्धिमा समेत सहयोग पुर्याउन ‘प्याज पकेट’ कार्यक्रमलाई विशेष योजनाको योजनाका रूपमा सञ्चालन गरिएको बताउनुभयो ।
“प्याज पकेट क्षेत्रका किसानलाई आवश्यक पर्ने उन्नत जातका बिरुवाका लागि नगरपालिकाले अनुदानमा बीउ उपलब्ध गराएको छ ।”, मेयर श्रेष्ठले अगाडि भन्नुभयो,“दुई वटा कृषि सहकारीलाई उन्नत जात (रेड क्रियोल)को बीउबाट बिरुवा उत्पादन गरेर पकेट क्षेत्रका किसानलाई सहुलियत शुल्कमा वितरणको प्रबन्ध मिलाएका छौँ ।”
विगतका परीक्षणका रूपमा सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी बन्नुका साथै स्थानीय किसानको आयआर्जन वृद्धिमा सहयोग पुर्याउन थालेपछि प्याजको व्यावसायिक उत्पादनलाई जोड दिइएको विदुर नपाको कृषि शाखाले जनाएको छ ।
बीउ उपलब्ध गराएका किसानले बिरुवा रोप्न सुरु गरेदेखि उनीहरूलाई बजारीकरणसम्म सहयोग पुर्याउन विभिन्न कार्यक्रम समावेश गरिएको छ । कार्यक्रम सफल बनाउन कृषि औजार, सिँचाइ पाइप, प्राविधिक परामर्श दिइने जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्