भक्तपुर बाबुछोरा हत्या प्रकरण: जेठो छोराले प्रहरीसामु गरे आत्मसमर्पण
भक्तपुर – सूर्य विनायक नगरपालिका वडा नं. २ बालकोट फिकाधारा स्थित भएको बाबु र छोराको हत्या प्रकरणमा जेठो छोराले प्रहरीसामु आत्मसमर्पण गरेका छन् ।
डेराबाट सम्पर्कविहीन भएका जेठा छोरा मिलन मङ्गलवार काठमाडौँ महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ । खोटाङ रुपाकोट मजुवा गढी नगरपालिका वडा नम्बर १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्यको शव फेला परेको थियो भने कोठामा जेठा छोरा मिलन आचार्य थिएनन् ।
घटनामा जेठो छोराको संलग्नता हुन सक्ने आशङ्का छ । गत शनिवार राति घटना भएदेखि नै जेठो छोरा सम्पर्कविहीन भएका थिए । उनका बाबु र भाइको शव डेरामै सोमबार बिहान बेग्लाबेग्लै कोठामा बाहिरबाट ताला लगाइएको अवस्थामा फेला पारेको थियो ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई निजहरू मृत अवस्थामा फेला पारेको थियो । घटनास्थलमा केनाईन काठमाण्डौंबाट कुकुर र फरेन्सीक डाक्टरसहितको प्रहरी टोली खटिई अनुसन्धानमा जुटेको थियो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक माधव प्रसाद बुढाथोकीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्