शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा धेरै गर्न बाँकी छ : अध्यक्ष दाहाल
चितवन- राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले शिक्षा, स्वास्थ्य र खेलकूद क्षेत्रमा राज्यले अझैँ धेरै काम गर्न बाँकी रहेको बताउनु भएको छ।
चितवनको कालिका नगरपालिकास्थित पदमपुर आधारभूत विद्यालय ढेडौलीको ७० औँ वार्षिकोत्सव एवं भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनु भएको हो।
अध्यक्ष दाहालले जुन देशमा गतिलो शिक्षा हुन्न र स्वास्थ्य सुविधाको सही व्यवस्थापन हुँदैन त्यहाँका जनतालाई सभ्य र सबल नागरिक बनाउन गाह्रो हुने बताउनु भयो। “जुन देशमा शिक्षा छैन, जुन देशका नागरिकलाई स्वास्थ्यको ठिक व्यवस्थापन छैन। खेलकुद र मनोरञ्जनका लागि उचित व्यवस्था गर्न सकिँदैन,” अध्यक्ष दाहालले भन्नुभयो, “त्यस देशमा सभ्य नागरिक बनाउन गाह्रो हुन्छ।”
संविधानमा जनताका मौलिक हक अधिकारहरू उल्लेख्य भए पनि व्यवहारिक रूपमा जनताले अनुभूति हुने गरी काम गर्न राज्य चुकिरहेको अध्यक्ष दाहालले बताउनु भयो। लामो समयदेखि संसद्मा रहेको शिक्षा ऐन बनाउन नसक्दा नेपालको शिक्षा क्षेत्रमा रहेका थुप्रै समस्याहरू समाधान गर्न नसकिएको भन्दै अध्यक्ष दाहालले ऐन कानुन निर्माणको ढिलाइले नै यी समस्याहरू आएको बताउनु भयो।
शिक्षा ऐनजस्तै अरू थुप्रै ऐन कानुनहरू बनाउन बाँकी रहेको भन्दै अध्यक्ष दाहालले राजनीतिक दल, सांसद तथा सरोकारवाला सबै गम्भीर भएर कानुन निर्माणमा तदारुकता दिनुपर्नेमा जोड दिनुभयो।
बालबालिकालाई विद्यालय जान आफै तयार हुने वातावरण बनाउनु पर्नेतर्फ शिक्षक, अभिभावक र सरोकारवाला सबैले सोच्नुपर्ने अध्यक्ष दाहालले बताउनु भयो। खाजा वा अन्य लोभ देखाएर बालबालिकालाई विद्यालयसम्म पुर्याउने र भर्ना गरेर तथ्याङ्क देखाउने तर उनीहरूको शैक्षिक गुणस्तर र नियमितताबारे चासो नदिने खतरा बढिरहेको भन्दै अध्यक्ष दाहालले सरकारी विवरण र फाइलमा मात्रै देखिने प्रगति झन् खतरनाक भएको बताउनु भयो।
विश्वका धेरै देशहरूको तुलनामा नेपालको संविधानमा मौलिक हक, समावेशिता लगायतका अधिकार धेरै रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधानको कार्यान्वयन हुन नसक्दा जनताले उपलब्धिको अनुभूति गर्न नपाएको बताउनु भयो।
फरक प्रसङ्गमा अध्यक्ष दाहालले भन्नुभयो, “चितवन सबैले सुगम भन्छन् तर चितवनका पहाडी भेग कति विकट छन् भन्ने यहाँ घुमेकालाई मात्रै थाहा छ। मैले पश्चिम नेपालका धेरै पहाडी जिल्लाहरू घुमेको छु। त्यहाँभन्दा सुगम भनिएको चितवनका पहाडी क्षेत्रको अवस्था निकै दयनीय छ। यहाँका जस्तो विकट पहाड कतै देखेको छैन।”
सो अवसरमा अध्यक्ष दाहालले पदमपुर आधारभूत विद्यालयको दुई तलासहित ६ कोठे भवनको शिलान्यास गर्नुभयो। उक्त भवन निर्माणका लागि निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत अध्यक्ष दाहालले आफ्नो तर्फबाट एक करोड रकम छुटाउनुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्