बजार नपाएपछि रुन्चेतको किवी बोटमै कुहिन थाले
गोरखा- उत्तरी गोरखाको धार्चे गाउँपालिकाका वडा २ रुन्चेतका किसानहरुले रहरै रहरमा किवी खेती सुरु गरे । २०७४ साल एक गैरसरकारी संस्थाले बिरुवा उपलब्ध गराएपछि कस्तो हुँदो रहेछ भनेर केही किसानले किवी लगाए ।
‘मैले सुरुमा ५ वटा बिरुवा लगाएको थिएँ, दुई वर्षमै फूल लाग्यो,’ स्थानीय किसान बिरबहादुर गुरुङले भने,‘तीन वर्षपछि मज्जा फल्न थाल्यो । वर्षेनी राम्रो हुँदै गइरहेको छ ।’ अहिले दुई ठाउँमा गरी उनको बारी १५ बोट किवी छन् । यो वर्ष मात्र झण्डै ९ क्विन्टल किवी फलाएका बिरबहादुर भने जस्तो बजार नपाएपछि चिन्तित छन्।
‘सबै एकपटक टिपेर बेच्न पाए त दुई गाडी भन्दा बढि हुन्थ्यो हो,’ उनले भने, ‘गाउँमा धेरैको छ दुई चार किलो भन्दा बिक्दैन, अहिले मान्छेले बोकेर माछाखोला लैजाने गरेको छु ।’ गाउँकै बगैचामा पुग्नेलाई प्रतिकिलो १५० रुपैयाँ बेच्ने गरेको किवी मान्छेले बोकाएर माछिखोला पु¥याउँदा किलो दुई रुपैयाँ बेचेको उनले बताए ।
तर राम्रोसँग बजार नपाउँदा आधा भन्दा धेरै किवी अझै बोटमै रहेको छ । ‘गाउँमा गाडी आउँदैन, बजारसम्म लैजाने हाम्रो सामार्थ पनि छैन,’ उनले भने,‘राम्रो फलेर पनि आम्दानी लिन पाइएको छैन ।’
अहिलेको बजार भाउ अनुसार बिरबहादुरको बगैंचामा मात्र १ लाख २० हजार भन्दा बढिको किवी फलेको छ ।
उनी जस्तै ७/८ जना किसानको बगैंचामा लटरम्म किवी फलेको छ । ‘गाउँमा बिकेन मैले एक गाडी किबी काठमाण्डौं लिएर आएको छु,’ अर्का किवी किसान चन्द्रमान गुरुङले भने,‘यहाँ पनि राम्रो भाउ पाइएन्, भारतबाट आएको किवीले बजार खाएको रहेछ ।’ काठमाण्डौंमा पनि बेच्न नसकेकपछि उनले एउटा तरकारी तथा फलफूल मण्डीमा उधारो ४ क्विटल भन्दा किवी छोडेको बताए ।
उनको बगैंचामा पनि यस वर्ष करिब १० क्विटल किबी फलेको छ । खासै ठूलो लगानी नहुँने किवी खेती गर्न सजिलो छ । कतैबाट सहयोग नपाएका किसानहरुले आफैले जंगलबाट काठ ल्याएर पोल बनाई खेती गरेका छन् ।
सिमेन्टको पोल हाल्न सके खेति राम्रो हुने उनीहरुको बिश्वास छ । ‘सुरुमा बिरुवा सहयोग त भयो, त्यसपछि कहीँ कतैबाट हामीले सहयोग पाएका छैनौं,’ उनले भने,‘गाउँपालिका वा अन्य कुनै निकायले थोरै प्राबिधिक सहयोग र बजारीकरण गरिदिए हामीलाई धेरै राम्रो हुने थियो ।’ सो क्षेत्रमा किवीको उत्पादन राम्रो भएपछि हौसिएका किसान बजार नपाउँदा चिन्तित भएका छन् ।
यता गाउँपालिकाले भने आगामी वर्षदेखि सहयोग गर्न सकिने बताएको छ । ‘हामीलाई रुन्चेतमा त्यति राम्रो किवी फलेको छ भन्ने जानकारी थिएन,’ कृषि शाखा प्रमुख अनिल नेपालीले भने,‘अहिले त माछाखोलामै ल्याएर उहाँहरुले बेचिरहनु भएको छ । केही दिनमा हामी बगैंचा हेर्न जाने योजनामा छौँ ।’
चालु आर्थिक वर्षमा धार्चे गाउँपालिकाले स्थानीय उत्पादनको बजार प्रवर्द्धनमा ३ लाख बजेट बिनियोजन गरेको उनले बताए । त्यहाँको आवश्यकताका आधारमा प्याकेजिङ वा ढुवानीमा गाउँपालिकाले आवश्यक सहयोग गर्न सक्ने उनको भनाई छ । ‘हामी उहाँहरुसँग समन्वय गर्छौं, के गर्न सकिन्छ हेर्छौ,’ उनले भने,‘धार्चेको स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने हाम्रो योजना छ ।’
धार्चे गाउँपालिका अन्य वडामा पनि किबी खेति राम्रो रहेको त्यहाँका किसानहरुले बताएका छन् । गाउँपालिकाले आवश्यक प्रावधिक सहयोग, बजार प्रवद्र्धन र समन्वय गरिदिने हो भने सो क्षेत्रलाई किबीको पकेट क्षेत्र बनाउन सकिने सरोकारवालाहरुको भनाई छ । किवी खेतीका लागि यहाँको जमिन र वातावरण अनुकूल भएकाले यसको खेतीमा धेरैजसो किसान आकर्षित भएको पाइन्छ ।
समुद्र सतहबाट एक हजारदेखि १५ सय मिटरको उचाइमा यसको खेती राम्रो हुने विज्ञहरु बताउँछन् । धेरै प्रजातिका फलफूलमा पाइने तत्वसँगै भिटामिन सि प्रचुर मात्रामा पाइने किवीको सेवनले मुटुलाई स्वस्थ राख्न, आँखाको ज्योति बढाउन, क्यान्सरबाट बचाउन र रगतलाई सफा राख्न मद्दत पुग्ने बिज्ञहरुको भनाई छ ।
साथै जुस, वाइनजस्ता पेय पदार्थका रुपमा किवीलाई प्रशोधन गरेर बजारीकरण गर्नसके सो क्षेत्रका किसानलाई फाइदा पुग्ने देखिन्छ ।।
प्रतिक्रिया राख्नुहोस्