ड्रिलिङको काम सकिएसँगै चिनीयाँ अन्वेषणकर्ताको रिपोर्ट कुर्दै भूगर्भ विभाग

दैलेख- दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्याँस अन्वेषणको कार्य करिव-करिव सकिएको छ ।

२०८१ वैशाख २८ गतेदेखि सुरु गरिएको ड्रिलिङको काम ३ हजार ९ सय ४० मिटर तल पुगेपछि सकिएको अन्वेषणकर्ताहरुले जानकारी दिएका छन । ४ हजार मिटर जमिनमुनि ड्रिलिङ गर्ने अन्तिम लक्ष्य राखिएको थियो । करिब सो गहिराइसम्म पुगेपछि अब अन्वेषणको काम सकिएको हो ।

पेट्रोलियम पदार्थको भण्डारण पत्ता लगाउने अभियान अन्तर्गत यो कार्य सञ्चालनमा छ । अहिलेसम्मको अन्वेषणको कार्यले उत्साहित बनाएको खानी तथा भूगर्भ विभागका पदाधिकारीहरूले जानकारी दिएका छन् ।

अझैँ यकिन भन्न सकिने अवस्था त छैन तर जमिन मुनि लिकेज ग्याँसहरू देखिएका छन्, काम निरन्तर जारी छ । अहिलेसम्म सकारात्मक सङ्केत देखिएका छन् ।

चिनिया टोलीले हरेक मिटरमा सङ्कलन गरेको नमुनाको विशिष्ट अध्ययन गर्न चीनमै लिनुपर्ने भएकोले अन्तिम नतिजा पर्खन भने चिनियाँ टोलीको रिपोर्ट नै कुर्नुपर्ने पदाधिकारीहरूको भनाइ छ ।

भण्डारण पत्ता लागेपछि मात्र आर्थिक विश्लेषण गरेर उत्पादनका लागि थप कामहरू अगाडि बढाइने छ ।

पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न चीन सरकारसँग सहमति भएसँगै चीन सरकारको २ अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा अन्वेषणको काम सुरु गरिएको थियो ।

यो परीक्षण सफल भए दैलेखको अर्को स्थानमा पनि अन्वेषणको कार्य सुरु हुने खानी तथा भूगर्भ विभागका पदाधिकारीहरूले जानकारी दिएका छन् ।

कहाँ छ पेट्रोलियम अन्वेषण स्थल ?

दैलेख सदरमुकामको नारायण नगरपालिका, दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाको संगमस्थल शिरस्थान नजिकै जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि ४५ रोपनी जग्गा सरकारले लिएर अन्वेषणको काम सुरु गरिएको छ ।

पेट्रोलियम अन्वेषण स्थल, मध्य पहाडी राजमार्ग सँगै जोडिएको स्थानमा छ । कर्णाली प्रदेशको रारा घुम्ने पर्यटकहरूसमेत अहिले यो स्थानमा हेर्न आउने गरेका छन् ।

दैलेख जिल्लाको मध्य पहाडी सडक खण्डको १ सय २५ किलोमिटर सडक पूर्ण रूपमा कालोपत्रे सम्पन्न भएसँगै जाजरकोट, रुकुम, जुम्ला, हुम्ला, मुगु, सुर्खेत र दैलेख यात्रा गर्ने यात्रुहरू समेत यो स्थान हेर्न दैनिक सयौँको सङ्ख्यामा दैलेख आउने गरेका छन् ।

दिनहुँ २ देखि ३ सय सम्म पर्यटकहरू आएर फोटो खिच्ने गरेको स्थानीयको भनाइ छ । अहिले जलजले क्षेत्रमा होटेल व्यवसाय गर्ने व्यापारीहरू पनि उत्साहित छन ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.