पेनाल्टी सुट आउटमा वसन्तीकलीले सेल्फीकलीलाई हरायो – फोटो फिचर
चितवन – पर्यटकीय सौराहामा आजदेखि सुरु भएको १८ औँ संस्करणको हात्ती तथा पर्यटन महोत्सवअन्तर्गत आज भएको हात्तीहरूको पेनाल्टी सुट आउटमा वसन्तीकली हात्ती समूह विजयी भएको छ । यो समूहले सेल्फीकली हात्ती समूहलाई पेनाल्टी सुट आउटमा १-० ले हराएको हात्ती व्यवस्थापन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिनुभयो । प्रत्येक समूहमा ४-४ वटा हात्ती रहेका थिए। जसमा वसन्ती कलीले मात्र १ गोल गर्न सफल भइन् । उक्त गोलले नै टोली विजयी भयो । कार्यक्रमको उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले महोत्सवको उद्घाटन गर्नुभएको थियो।
क्षेत्रीय होटेल सङ्घ चितवन सौराहाले हात्तीसँग सम्बन्धित विभिन्न गतिविधि गरेर महोत्सव गर्दै आएको छ।
पुस १६ गतेसम्म हुने महोत्सवमा हात्तीको श्रृंगार प्रतियोगिता, हात्ती वनभोज, हात्तीको फुटबल पेनाल्टी, हात्तीको म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुंगादौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एन्ड ट्राभल एजेन्सीसँग गोष्ठी, चितवनमा पर्यटनको सम्भावनाको विषयमा अन्तरक्रिया हुने संयोजक रामकुमार अर्यालले बताउनुभयो। सरकारी र निजी गरी ८० वटा हात्तीलाई महोत्सवमा सहभागी रहेको क्षेत्रीय होटेल सङ्घका सचिव महेश खनालले जानकारी गराउनुभयो ।
यूनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल महोत्सवका सह–आयोजक रहेको महोत्सवकै कारण सौराहामा वार्षिक तीन लाख ५० हजार पर्यटक आउने अनुमान छ। सङ्घका उपाध्यक्ष ओम पाण्डेले राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति, महिला उद्यमी र स्थानीय कृषि विशेषमा मह उत्पादनको प्रदर्शनी पनि विशेष आकर्षण रहेको जानकारी दिनुभयो। महोत्सवमा शुक्रवार हात्ती फुटबल र दौडलगायतका कार्यक्रम हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्