पहाडी सडकमा ‘ट्रिपर’ गुड्दा साना सवारी साधनलाई सास्ती
दाङ- सिमेन्ट उद्योगका ट्रिपरहरु गुड्दा पहाडी जिल्लाका सडकहरु भत्किएर जीर्ण बनेका छन ।
सिमेन्ट उद्योगहरुले वैकल्पिक सडक बिना नै पहाडका चुनढुङ्गा खानी उत्खनन् गर्दा पहाडी राजमार्ग तथा सडकहरु बिग्रिएका हुन् ।
तिव्र भारका सयौं ट्रिपरहरु दैनिक गुड्ने भएपछि कालोपत्रे भएका सडकहरुमा अहिले ठूला–ठूला खाडल भई यात्रुबाहक सवारीसाधन गुड्न मुस्किल हुने गरेको छ ।
केही वर्षअघिसम्म स्थानीयले आन्दोलन गर्ने गरेको भएपनि अहिले त्यस्ता गतिविधिहरु पनि हुन छाडेको रोल्पाको होलेरी निवासी पत्रकार एलबी मगर बताउनुहुन्छ ।
‘केहि वर्षअघि कालोपत्रे भएको शहीदमार्ग अन्तर्गतको घोराही-होलेरी सडकखण्डको अवस्था अहिले नाजुक छ’ उहाँले भन्नुभयो ‘मोटरसाइकलमा यात्रा गर्न त धेरै नै जोखिमपूर्ण छ ।’
शहीदमार्ग जस्तै दाङको घोराही-बङ्गलाचुली सडक र राप्ती लोकमार्गको तुलसीपुर-कपुरकोट सडकको हालत पनि उस्तै छ ।
यी सडकहरुमा दाङमा रहेका सोना सिमेन्ट, घोराही सिमेन्ट र सम्राट सिमेन्टका ट्रीपरहरु दैनिक सयौंको संख्यामा गुड्दै आएका छन् ।
स्थानीय सरकारको तर्फबाट उद्योगसँग पटक–पटक वार्ता हुने गरेको भएपनि समस्याको समाधान भने हुन नसकेको बङ्गलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जीसीको भनाइ छ ।
‘स्थानीयले आन्दोलन गर्दा यो विषय चर्काे रुपमा उठ्ने गर्छ’ जीसीले भन्नुभयो ‘तर केही समयपछि उद्योगहरुले विभिन्न बहानामा पुनः ट्रिपर सञ्चालन गर्ने चलन छ ।’
उद्योगहरुले स्थानीय सरकार र स्थानीयको मागलाई सम्बोधन गर्नेभन्दा पनि अटेरी नै गर्ने गरेको स्थानीय जनप्रतिनिधि र स्थानीय अगुवाहरुको गुनासो छ ।
नेपाल सरकारले यसमा गम्भीर भएर सोँच्नुपर्ने प्रतिनिधिसभा सदस्य एवम् रोल्पाली नेतृ इश्वरी घर्तीको भनाई छ ।
‘मैले सदनमा पनि पटक–पटक यो कुरा उठाउने गरेको छु’ सांसद् घर्तीले भन्नुभयो ‘तर सरकारले गम्भीर रुपमा लिएको छैन् ।’ ट्रीपर गुड्ने वैकल्पिक सडक नहुँदा राज्यको अरबौ लगानी भएका सडकहरु दिन प्रतिदिन जिर्ण बनिरहेका छन् ।
यस्तै चुनढुङ्गा उत्खनन्का क्रममा पनि वातावरणीय प्रभाव मूल्याङ्न विनै जथाभावी उत्खनन् गर्दा पहाडी बस्तीहरु उजाड बन्दै गएका छन् ।।
प्रतिक्रिया राख्नुहोस्