नागरिकता सिफारिस अनलाइनबाटै
म्याग्दी– सरकारले नागरिकता सिफारिस अनलाइन बाटै गर्न सकिने ब्यवस्था पूर्ण कार्यान्वयमा लैजानेगरी तयारी सुरु गरेको छ ।
नागरिकता सिफारिसको कार्यलाई समयसापेक्ष, प्रविधिमैत्री र सेवाग्राहीलाई झन्झटरहित छिटोछरितो सेवा प्रदान गर्नका लागि पूर्वतयारीस्वरुप गृह मन्त्रालयले विभिन्न जिल्लाहरुमा अनलाइनबाटै नागरिकता सिफारिस सम्बन्धी तालिम दिन सुरु गरेको हो ।
यसै अन्तर्गत गृह मन्त्रालयको आयोजनामा आजदेखि म्याग्दीको बेनीमा अनलाइन प्रणालीमार्फत नेपाली नागरिकताको सिफारिस कसरी ब्यवस्थापन गर्ने भन्ने विषयमा स्थानीयत तहका वडा सचिव र वडा अध्यक्षहरुलाई लक्षित गरेर तालिम आयोजना गरेको छ ।
नेपाली नागरिकताको अनलाइन प्रणालीमार्फत स्थानीय तहबाट सिफारिस सम्बन्धी विषयमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । नेपाली नागरिकताको सिफारिस प्रणालीलाई प्रभावकारी, व्यवस्थित र चुस्तदुरुस्त बनाउने तालिमको उद्देश्य रहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनुभयो ।
नागरिकता सिफारिसको कार्यलाई समयसापेक्ष, प्रविधिमैत्री र सेवाग्राहीलाई झन्झटरहित छिटोछरितो सेवा प्रदान गर्नका लागि पूर्वतयारीस्वरुप अनलाइन सिफारिस सम्बन्धी विषयमा तालिम सञ्चालन गरिएको प्रजिअ ढकालले जानकारी दिनुभयो ।
नेपाल सरकारले नेपाली नागरिकताको सिफारिसलाई अनलाइन प्रणालीमा लैजाने लक्ष्य अनुसार सेवा प्रवाहलाई सरल, प्रभावकारी र नागरिकमैत्री बनाउन तयारी गरेको छ ।
तालिममा म्याग्दी जिल्लाको ४५ वटै वडाका वडा सचिवहरु, वडा अध्यक्ष र वडा तथा पालिकामा कार्यरत एमआईएस अपरेटरहरुले सहभागिता जनाएका छन् ।
प्रतिक्रिया राख्नुहोस्