सौराहामा सफारी पर्यटनको नवीनता खोज्न अन्तर संवाद
रत्ननगर – चितवनको पर्यटन विकासका सौराहामा शुक्रवार सर्वपक्षीय अन्तर संवाद कार्यक्रम गरिएको छ ।
१८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत क्षेत्रीय होटेल सङ्घ चितवन, मृग कुञ्ज मध्यवर्ती उपभोक्ता समिति, पर्यटन कार्यालय सौराहाले चितवनको पर्यटन हिजो र आज, सफारी पर्यटनमा विविधता, मौलिकता र नवीनता विषयक अन्तर संवाद कार्यक्रम गरिएको हो ।
चितवनको सफारी पर्यटनसँग सरोकार राख्ने नेपाल सरकार, पर्यटन व्यवसायी, निकुञ्ज र संरक्षणकर्मीहरू बिच सफारी पर्यटनको सम्भावना र स्थायित्वका विषयमा बहस गरिएको सङ्घका महासचिव गुणराज थपलियाले बताउनुभयो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पर्यटन विज्ञ तथा इकोलोजिष्ट डा.सिद्धार्थ व्रज ब्रजचार्यले चितवनको सफारी पर्यटनले मुलुककै पर्यटन उद्योगमा सकारात्मक छाप छोड्न सफल भएको बताउनुभयो। चितवनको सफारी पर्यटनको विकल्प खोजिए दुर्भाग्य हुने भन्दै उहाँले चितवन आउने विदेशी पर्यटकको सङ्ख्या वृद्धि गर्न सुझाव दिनुभयो ।
१० वर्ष अघि ७० प्रतिशत विदेशी, २० प्रतिशत नेपाली र १० प्रतिशत सार्क मुलुकबाट पर्यटक आउने गरेकोमा अहिले त्यसको ठिक विपरीत ७० प्रतिशत नेपाली, २० प्रतिशत विदेशी र १० प्रतिशत सार्क मुलकका पर्यटक चितवन आउने गरेको जानकारी दिनुभयो ।
चितवनको पर्यटनको स्थायित्वको लागि ५० प्रतिशत विदेशी, ३० प्रतिशत नेपाली र २० प्रतिशत सार्क मुलुकबाट आउने बाताबरण तयार गर्न उहाँले सुझाव दिनुभयो ।
पत्रकार महासङ्घ चितवनका अध्यक्ष वसन्त पराजुलीले सहजीकरण गरेको चितवनको पर्यटन हिजो र आज विषयमा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकास ढुङ्गाना, चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्त, लोथर उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङबो, पर्यटन विकास समिति सौराहाका अध्यक्ष भेषराज दवाडी, हात्ती महोत्सवका संयोजक रामकुमार अर्यालले बहस गर्नुभएको थियो ।
क्षेत्रीय होटेल सङ्घ चितवनका पूर्व अध्यक्ष सुमन घिमिरेले सहजीकरण गरेको सफारी पर्यटनमा विविधता, मौलिकता र नवीनता विषयमा पूर्व राजदूत विष्णु पुकार श्रेष्ठ, संरक्षणकर्मी तथा पर्यटन व्यवसायी वासु ढुङ्गाना, रेवान् सौराहाका अध्यक्ष ध्रुव गिरी, नाटाका अध्यक्ष कुमारमणि थपलिया तथा पर्यटन कार्यालय सौराहाका कार्यालय प्रमुख प्रेम ढकालले बहस गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पर्यटन विभागका महानिर्देशक नारायण प्रसाद रेग्मीले नेपालको पर्यटनको विकासको लागि ऐन संशोधन, नयाँ पर्यटन नीति र नीतिगत सुधारमा ध्यान दिइएको बताउनुभयव । हात्ती सफारीको विकल्प खोज्ने नभई हात्तीको जीवनचक्र सहित अन्य गतिविधिलाई समेत अगाडि सार्नुपर्ने उहाँको भनाई छ । उहाँले कोरनाले नेपालमा पर्यटक आगमन ८१ प्रतिशत घटेको उल्लेख गर्दै त्यस यता सन २०२३ मा १० लाख १४ हजार र चालु आर्थिक वर्षको डिसेम्बर सम्म ११ लाख बढी पर्यटक नेपाल प्रवेश गरेको जानकारी दिनुभयो ।
मृग कुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय होटेल सङ्घ चितवनका अध्यक्ष गंगा गिरी, पर्यटन व्यवसायी ऋषि तिवारी, संरक्षणकर्मी शिवजी गायक, पर्यटन व्यवसायी शिव भुसाल, साप नेपालका प्रादेशिक निर्देशक जनक कार्की लगायतले मन्तव्य राख्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्