मछिन्द्रलाई ट्राई-ब्रेकरमा हराउँदै चर्च ब्वाइजले जित्यो उपाधि
पाँचथर-पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँले जितेको छ ।
पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले उपाधि चुमेको हो ।
निर्धारित खेल २-२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
टाइब्रेकरमा चर्च ब्वाइजका लागि एकराज बुढाथोकी, रोहन कार्की, विदेशी खेलाडी अबयोमी ओलुवासेन, छिरिङ लामा र सुजन डङ्गोलले गोल गरे ।
मछिन्द्रका लागि देवेन्द्र तामाङ, सनिश श्रेष्ठ, सौरभ सुब्बा र समिराज थोकरले गोल गरे पनि दयानन्द इलाङबाङको प्रहार चर्च ब्वाइजका गोलकिपर कृशल मोक्तानले रोकेका थिए ।
कृशलको त्यही बचाउ चर्च ब्वाइजलाई उपाधि दिलाउन पर्याप्त बन्यो ।
दुई मिनेट आफ्नो अग्रता जोगाउन नसक्दा मछिन्द्र उप विजेतामै सीमित बन्यो ।
उपाधिसँगै चर्च ब्वाइजले १० लाख पाँच सय ५५ पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता मछिन्द्रले पाँच लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।।
प्रतिक्रिया राख्नुहोस्