खैरहनी महोत्सवमा उत्कृष्ट किसानलाई पुरस्कृत
खैरहनी – तेस्रो खैरहनी महोत्सवमा राखिएको कृषि उपजहरूलाई उत्कृष्ट छनौट गरी सम्बन्धित किसानलाई पुरस्कृत गरिएको छ ।
महोत्सवको कृषि परिसरमा प्रदर्शनमा राखिएका मध्य १४० जना किसानलाई छनौट गरी पुरस्कृत गरिएको महोत्सव आयोजक उद्योग वाणिज्य सङ्घ खैरहनिले जनाएको छ ।
कृषि र किसानको उत्थान गर्ने उद्देश्य सहित खैरहनी नगरपालिकाको सहयोगमा ती किसानहरूलाई पुरस्कृत गरिएको हो । सङ्घका सदस्य एवं कृषि प्रवर्द्धन समितिका संयोजक पुरन महतोले कृषि परिसरमा राखिएका विभिन्न उपजहरू मध्य बाली अनुसार प्रथम ,द्वितीय ,तृतीय र सान्त्वना स्थान छुटाई नगद पुरस्कार प्रदान गरिएको बताउनुभयो ।
३२ वटा बालीलाई प्रथम द्वितीय ,तृतीय र सान्त्वना गरी पुरस्कार दिइएको हो भने १२ वटा बालिलाई सान्त्वना स्वरूप पुरस्कृत गरिएको समिति संयोजक महतोलेबताउनुभयो ।
पुरस्कार रकम खैरहनी नगरपालिकाले बेहोरेको हो । कुल १ लाख ६८ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । कृषि उपज मध्य धेरै वजन भएको आकर्षक बाली लौका ( ८ किलो ८८० ग्राम) उत्पादन गर्ने किसान विष्णु देवी उपाध्यायलाई समेत पुरस्कृत गरिएको कृषि प्रवर्द्धन समिति संयोजक महतोले जानकारी दिनुभयो ।
महोत्सवकै पूर्व सन्ध्यामा आयोजित रोड रेस प्रतियोगिताका विजेताहरूलाई पनि सोमबार पुरस्कार प्रदान गरियो । प्रथम,द्वितीय र तृतीयलाई क्रमशः नगद १० हजार,७ हजार र ५ हजार तथा चौथो देखी दसौँ सम्म भएकाहरूलाई एक एक हजार रुपैयाँ प्रदान गरिएको खेलकुद समिति संयोजक प्रेम जोशीले जानकारी दिनुभयो ।
सोमबार दुर्गेश थापा,रितु कँडेल,प्रीति पासवानको प्रस्तुति रहेकोमा मङ्गलवार कलाकार ज्योति मगर आउने महोत्सवको कला तथा सांस्कृतिक समिति संयोजक एवं सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुन लम्सालले जानकारी दिनु भयो ।
महोत्सवको एघारौँ दिन १५ हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेको महोत्सवका संयोजक एवं सङ्घका अध्यक्ष कुमार खनालले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्