राजनीतिक स्थिरता र सुशासनका लागि कांग्रेस-एमालेको सहकार्यः नेता कोइराला
जनकपुरधाम- नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले मुलुकमा राजनीतिक स्थिरता र सुशासनका लागि दुई ठूला दलको नेतृत्वमा सरकार बनेको बताउनु भएको छ ।
नेपाल प्रेस युनियन धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले मुलुकलाई अप्ठ्यारो परिस्थितिबाट पार लगाउन काँग्रेस र एमालेको सहकार्य भएको बताउनुभएको छ ।
उहाँले वर्तमान गठबन्धन सरकार दुई पार्टीको सहमतिको आधारमा बनेकाले अबको डेढ वर्षपछि नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्नुहुने र काँग्रेसको नेतृत्वमा २०८४ को निर्वाचन हुने उल्लेख गर्नु भएकोछ ।
उहाँले मुलुकका बैङ्कहरूमा वित्तीय तरलता बढेको र बैङ्कले व्याज दर घटाएपनि व्यवसायीले ऋण नलिएका कारणले अपेक्षा अनुसारको आर्थिक गतिविधि मुलुकमा बढ्न नसकेको बताउँदै उहाँले सरकारले लगानी कर्ता तथा व्यवसायीलाई थप विश्वासमा लिन जरुरी रहेको बताउनु भएकोछ ।
नेता कोइरालाले पार्टी सभापति शेर बहादुर देउवासँग आफ्नो पूर्ण सहकार्य एवं समन्वय भएको बताउँदै पार्टीमा कुनै प्रकारको विवाद नभएको र सबै नेताहरूसँग आफ्नो सहकार्य भइरहेको दाबी समेत गर्नु भएकोछ ।
उहाँले २०८४ को निर्वाचनमा काँग्रेस एक्लैले चुनाव लडेर जित्न सक्ने अवस्था भएपनि अहिलेको अवस्थामा गठबन्धन आवश्यक भएको र संविधान संशोधनको काम गर्दा नेकपा माओवादी केन्द्र, रास्वपा तथा मधेसवादी दलहरूसँग सहकार्य गर्नुपर्नेमा जोड दिनु भएको छ ।
उहाँले पछिल्लो समय संविधान संशोधनसहितका मुलुकका विभिन्न समस्याहरूको समाधानका लागि नेपाली काँग्रेस र नेकपा एमालेबीचमा गहन संवाद शुरु भएको र नेपाली काँग्रेस संविधान संशोधनको पक्षमा रहेको स्पष्ट पार्नु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्