दरबन्दी अनुसारका चिकित्सक नहुँदा डडेलधुरा अस्पतालको सेवा प्रभावित
डडेलधुरा – डडेलधुरा अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा अस्पताल बाट दिइने सेवाहरू प्रभावित हुन थालेका छन् ।
सङ्घीय सरकार मातहत रहेको सुरु देखि कहिले पनि दरबन्दी अनुसारका चिकित्सक नरहँदा अस्पतालले दिने सेवाहरू प्रभावित बन्दै आएका छन् । अस्पतालमा १७ जनाको विशेषज्ञ चिकित्सकको दरबन्दी रहेपनी अहिले खालि रहेको छ । हाल नेपाल सरकारको छात्रवृत्ति र करारमा गरी ११ मात्रै विशेषज्ञ चिकित्सक रहेका अस्पतालका निमित्त प्रमुख डा.नरेन्द्र कुमार खनालले जानकारी दिनु भयो । हाल अस्पतालमा १८ जनाको मेडिकल अफिसर दरबन्दी भए पनि सात जना मात्र रहेका छन् । ३२ जना स्टाफ नर्सको दरबन्दी भएता पनि पछिल्लो करारबाट पदपूर्ति गरी ४४ जना स्टाफ नर्स छन् । अन्य प्राविधिक स्वास्थ्यकर्मीको पनि अस्पतालमा अभाव रहेको उहाँले बताउनु भयो ।
अस्पतालका निमित्त प्रमुख डा.नरेन्द्र कुमार खनाल डडेलधुरा अस्पताल विकास समितिका अध्यक्ष करुणा कर ओझाले स्थायी दरबन्दीमा विशेषज्ञ चिकित्सक पठाउन पटक पटक स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको बताउनु भयो । अस्पतालका समस्या लिएर धेरै पटक काठमाडौँ धाउँदा पनि नतिजा नआएको उहाँको भनाई छ । “बारम्बार मन्त्री, सचिवज्यूसहित सबैलाई आग्रह ग¥यौँ । हामीले अहिले पनि विशेषज्ञ चिकित्सक ल्याउनका लागि पहल गरिरहेकै छौँ,” अध्यक्ष ओझाले भन्नुभयो । “हाम्रो अपेक्षा अनुरूप मन्त्रालयबाट डाक्टर पठाउने काम भइरहेको छैन। छात्रवृत्ति करार र करार सेवामा उपलब्ध रहेका विशेषज्ञ डाक्टर साहबहरूले सेवा दिइराख्नु भएको छ ।” स्थायी दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक अभाव हुँदा अस्पतालले प्रदान गर्ने सेवा प्रभावित भएको उहाँको धारण छ ।
“स्वास्थ्य मन्त्रालयबाट जति विशेषज्ञ डाक्टर उपलब्धता हुनुपर्ने हो त्यो भएको अवस्था छैन । जसका कारण डडेलधुरा अस्पतालले विशेषज्ञ र गुणस्तरीय सेवालाई प्रवाह गर्ने सवालमा एकदमै समस्या देखिएको छ ।” हाल १०० शय्यामा सञ्चालन भइरहेको अस्पताल ३०० शय्यामा स्तरोन्नति गर्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर मन्त्रालयमा पठाइएको ओझाले जानकारी दिनु भयो ।
“ओएनएम स्वीकृत भएर अहिले ३०० शय्याको अस्पताल सञ्चालन भएमा केही हदसम्म यहाँको स्वास्थ्य समस्यालाई समाधान गर्न सकिएला । ओएनएम अर्थ मन्त्रालयमा होल्ड छ ।”उहाँले स्थायी दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको पनि बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्