परिणाममुखी काम गर्न सुरक्षा अधिकारीहरुलाई गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ-गृहमन्त्री रमेश लेखकले सीमित स्रोत र साधनकाबीच परिणाममुखी काम गर्न मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई निर्देशन दिनुभएको छ ।
गृह मन्त्रालयले आज आयोजना गरेको जिल्ला सुरक्षा समितिसँगको भर्चुअल बैठकमा गृहमन्त्री लेखकले लागुऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्यूनीकरण चुनौतीका रुपमा रहेको उल्लेख गर्दै सीमित स्रोतसाधनकाबीच गम्भीर भएर काम गर्न निर्देशन दिनुभयो ।
“अहिले चुनौतीका रुपमा देखापरेका तीनवटै विषय एकअर्कासँग सम्बन्धित छन्”, उहाँले भन्नुभयो, “त्यसको न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहसित पनि समन्वय गरेर लाग्नुहोस् ।” सीमामा हुने अपराध, चोरीसिकारी नियन्त्रण, भ्रष्टाचार न्यूनीकरण र आर्थिक अनियमिततामा शून्य सहनशिलताको नीति अपनाउन आग्रहसमेत उहाँले गर्नुभयो ।
मन्त्रालयले कानुनी, नीतिगत र संरचनात्मक सुधारका कामहरु अगाडि बढाएको उल्लेख गर्र्दै मन्त्री लेखकले सोहीअनुसार कामको गुणस्तर बढाएर जानुपर्नेमा जोड दिनुभयो । “हामीसँग शान्ति सुरक्षाको गम्भीर जिम्मेवारी छ”, उहाँले भन्नुभयो, “विकास, समृद्धि र लोकतन्त्रको दीर्घ जीवनका लागि शान्तिसुरक्षा हुनैपर्छ ।”
गृहसचिव गोकर्णमणि दुवाडीले नतिजा देखिनेगरी काम गर्न निर्देशन दिनुभयो । उहाँले सेवाप्रवाह प्रभावकारी बनाउन जोड दिँदै गुनासोरहित सेवा प्रवाहमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले विपद् व्यवस्थापनका लागि पूर्वतयारी प्रभावकारी बनाउन पनि निर्देशन दिनुभयो ।
“सार्वजनिक सम्पत्तिको संरक्षण र अतिक्रमण हटाउने विषयमा जोड दिएर लाग्नुहोस्”, सचिव दुवाडीले भन्नुभयो, “जिम्मेवारी र दायरामा रहेर काम गर्नुपर्छ ।” भर्चुअल बैठकमा देशभरका प्रमुख जिल्लाअधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.