धानको उत्पादनमा वृद्धि,हालसम्मकै उच्च उत्पादकत्व
काठमाडौँ- चालु आर्थिक वर्षमा धानको उत्पादन उल्लेख्य मात्रामा बढेको देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा ४ दशमलव ०४ प्रतिशतले धानको उत्पादन वृद्धि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
यो बर्ष सरकारले रसायनिक मल,उन्नत जातको वीउको अभाव हुन दिएन । त्यसका साथै मनसुन पानीका कारण पनि धानको राम्रो उत्पादन हुन पुग्यो । गत असोज महिनामा गएको बाढी पहिरोले सबैभन्दा बढी कृषिक्षेत्रको धानवालीमा क्षति पुर्याएको थियो ।
तर उत्पादकत्व बढ्दा धानको उत्पादनमा वृद्धि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भनाई छ । यो वर्ष धानको औषध उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव १९ मेट्रिक टन पुगेको मन्त्रालयको दाबी छ । यो उत्पादकत्व हालसम्मकै उच्च हो ।
चालु आर्थिक वर्षमा ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टनको हाराहारीमा धानको उत्पादन भएको छ । गत आर्थिक वर्षमा २०८०÷८१ मा अघिल्लो वर्षको तुलनामा ४ दशमलव ३३ प्रतिशतका दरले उत्पादनमा वद्धि भएको थियो । गत वर्ष ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन धान उत्पादन भएको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १०० प्रतिशतका दरले १ लाख ७४ हजार ५ सय १ हेक्टरमा बर्षेधान वालीको रोपाइ भएको थियो । सबैभन्दा कम मधेश प्रदेशमा ९७ लशमलव ३ प्रतिशतका दरले ३ लाख ७५ हजार ६ सय १४ हेक्टरमा धान रोपाइ भएको थियो ।
यो वर्ष कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धानको उल्लेख्य उत्पादन वद्धि भएको मन्त्रालयको भनाइ छ । यो वर्ष कुल १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको थियो । देशभर समग्र ९८ दशमलव ५ प्रतिशत धानको रोपाई भएको मन्त्रालयको भनाई छ । सामान्यतया नेपालका लागि करिब ८० लाख मेट्रिक टन धानको आश्यक पर्ने मन्त्रालयको तथ्यांक छ । सरकारले अपुग धान भारतबाट खरिद गर्दै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्