मध्यमोदी जलविद्युत आयोजनामा स्थानीयको तालाबन्दी
कास्की– मध्यमोदी जलविद्युत आयोजनामा स्थानीयले तालाबन्दी गरेका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका तथा पर्वतको मोदी गाउँपालिका अन्तर्गत पर्ने उक्त आयोजनाको प्रभावित क्षेत्रमा सहमति अनुसार कार्य नभएको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन ।
आयोजनाले प्रभावित क्षेत्रमा सहमति अनुसार अन्नपूर्ण गाउँपालिका वडा नं. ४, ५, ६, ७ र ८ मा सामाजिक उत्तरदायित्वको बजेट पूर्ण रुपमा लगानी नगरेको, आयोजनासँग सम्झौता भएर निर्माण सम्पन्न भएका विकास योजनामा उपभोक्ता समितिलाई ४ वर्षदेखि भुक्तानी नदिइएको स्थानीयको भनाई छ ।
त्यस्तै मोदीखोलामा कम्तीमा दश प्रतिशत पानी नछाडेको, आयोजना निर्माणको अवस्थामा बम पड्काउँदा स्थानीय जनताको घर भत्किएकोमा सोवापत् क्षतिपूर्ति उपलब्ध नगराएको, आयोजनाले स्थानीयको लागि साधारण शेयर(आइपीओ) जारी नगरेकोले बाध्य भएर तालाबन्दी गर्नु परेको अन्नपूर्ण–७ का विष्णु चापागाईंले बताउनुभयो ।
स्थानीयले आयोजना स्थलमा मर्मत सम्भारको लागि काम गरिरहेको डोजर (एक्साभेटर)को चाबी समेत नियन्त्रणमा लिएका छन् । कुल १८ मेगावाट क्षमताको उक्त आयोजनामा चौधरी ग्रुपको लगानी रहेको उल्लेख छ ।
प्रतिक्रिया राख्नुहोस्