गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
गोरखा- नेपाल एकिकरणका क्रममा प्रयोग गरिएको पदमार्गको प्रचार-प्रसारका लागि नेपाली सेनाको एक टोली आज गोरखा-काठमाडौँ पदयात्रामा निस्किएको छ ।
गोरखाबाट सुरु भएको एकिकरण पदयात्रा धादिङ, नुवाकोटहुँदै यहीँ पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाण्डौको हनुमान ढोका दरवारमा आयोजना हुने विशेष समारोहमा सहभागी भएर समापन हुने नेपाली सेना रिपुर्मदन गण गोरखाका गणपति प्रमुख सेनानी असोककुमार क्षेत्रीले जानकारी दिनुभयो ।
गोरखा दरवारस्थित तत्कालिन राजा पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारका क्रममा प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले पदयात्राको थालनी गरेको उहाँले बताउनुभयो । ‘‘एकिकरण पदयात्राले ऐतिहासिक पदमार्गको व्यापक प्रचार-प्रसार हुनेछ, प्रमुख क्षेत्रीले भन्नुभयो, ‘‘इतिहासको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनका लागि पदयात्रा कार्यक्रमको आयोजना गरिएको हो ।’’
दरवारस्थित हनुमान भञ्ज्याङ चौताराबाट नेपालको राष्ट्रिय झण्डा र टर्च लाईट बोकेर सेनाको टोली पदयात्रामा निस्किएको प्रमुख सेनानी क्षेत्रीले बताउनुभयो । पृथ्वीनारायण शाहले खडा गरेको तत्कालिन नेपाली सेनाको पहिलो पाँच कम्पनी श्रीनाथ गण, कालीबक्स गण, पुरानो गोरख, बर्दबहादुर गण र सुवज गणको झण्डासमेत बोकेर सेनाले बोकेको छ ।
सेनाले गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिकासंगको सहकार्यमा एकिकरण पदयात्राको थालनी गरेको हो । गोरखाबाट निस्किएको टोलीले आज धादिङस्थित सेनाको टोलीलाई गोरखाबाट लिएर गएको राष्ट्रिय झण्डा र टर्च हस्तान्तरण गर्नेछ भने धादिङको टोलीले नुवाकोटस्थित सेनाको टोलीलाई गोरखाबाट लिएर गएको राष्ट्रिय झण्डा र टर्च हस्तान्तरण गर्नेछ ।
त्यस्तै नुवाकोटको सेनाको टोलीले गोरखाबाट लगिएको झण्डा र टर्च लाइट काठमाडौँको सेनाको टोलीलाई हस्तान्तरण गर्ने उहाँले बताउनुभयो ।
वर्तमान नेपाल एकिकरणको अभियानका क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको बाटोलाई नेपाली सेनाले गएको ६ बर्षदेखि एकिकरण पदमार्गको रुपमा विकास गर्दै प्रचार–प्रसारका लागि पदयात्रा गर्दै आएको छ ।
पदयात्रामा निस्किएको टोलीलाई नेपाली सेना पश्चिम पृतनापति एवं उपरथी मधुकर सिं कार्की, जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन थापामगर, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगर, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकर, गोरखा दरबार हेरचाह अड्डाका प्रमुख बिष्णु पाठकलगायतले एक कार्यक्रमका बिच विदाई गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्