एमाले राष्ट्रिय राजनीतिको केन्द्रमा पुन:स्थापित भएको छ: प्रधानमन्त्री ओली

काँग्रेस-एमाले बीचको सहकार्यको प्रयास २०७९ निर्वाचन अगाबैबाट सुरु भएको हो

काठमाडौँ-  प्रधानमन्त्री एवम नेकपा एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले आफ्नो दलले सरकारको नेतृत्व लिएसँगै एमालेलाई फेरी एकपटक राष्ट्रिय राजनीतिको केन्द्रमा पुन:स्थापित गर्ने काम भएको बताउनु भएको छ ।

राजधानीमा आजबाट सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले पेश गर्नु भएको प्रतिवेदनमा सरकारमा नेतृत्वको अवसरले विगत तीन वर्षदेखि हाम्रो पार्टीका विरुद्ध निर्माण गरिएको घेराबन्दी, भ्रम प्रचार र ‘अब यो पार्टी कहिल्यै सरकारको नेतृत्वमा पुग्न सक्दैन’ भनेर निर्माण गरिएको नकारात्मक भाष्यलाई त खण्डित गरेको उल्लेख गर्नु भएको छ ।

”यसले नेकपा (एमाले) लाई राष्ट्रिय राजनीतिको केन्द्रमा पुनस्थापित गर्ने काम पनि गरेको छ। तर यसको महत्व नेकपा (एमाले) सरकारको नेतृत्वमा पुग्ने अर्थमा मात्रै सीमित छैन । राजनीतिक स्थायित्व, वाह्य सम्बन्ध सञ्चालन र राष्ट्रिय हितको सम्बर्द्धन, अर्थतन्त्रको गतिशीलता, सुशासन प्रवर्द्धन, विकास निर्माणमा तीव्रता र जनतामा आशा र भरोसा जगाउने सन्दर्भमा यस सहकार्यको विशेष महत्व छ। यसलाई यही गंभीरतापूर्वक ग्रहण गरिनु पर्छ । प्रभावकारी एवं सफल बनाउनु पर्छ,” प्रतिवेदनमा भनिएको छ ।

यस्तै प्रतिवेदनमा ओलीले काँग्रेस एमाले गठबन्धन विरुद्ध सुशासनको अभियानलाई उल्ट्याउन खोजेको’ र संविधान संशोधनका नाममा ‘सङ्घीयता, समावेशी प्रतिनिधित्व र समानुपातिक निर्वाचन प्रणाली जस्ता उपलव्धिहरू खोस्न खोजिरहेको ‘ भ्रामक प्रचार गर्न खोजिरहेको उल्लेख गर्नु भएको छ ।

प्रतिवेदनमा ओलीले काँग्रेस एमाले बीचको सहकार्यको प्रयास २०७९ निर्वाचन अगाबैबाट सुरु भएको उल्लेख गर्नु भएको छ ।
”एमाले र नेपाली काङ्ग्रेस बिच सहकार्यको यो प्रयाश आजको होइन । नेकपा (एमाले) को तर्फबाट हामीले नेपाली काङ्ग्रेसका नेताहरूसँग २०७९ को निर्वाचन अगावै एक्लाएक्लै निर्वाचन लड्ने औपचारिक प्रस्ताव गरेका थियौँ । निर्वाचनको परिणामपछि पनि सहकार्यको प्रस्ताव सार्वजनिक रुपमै सार्वजनिक गरेका थियौँ । विभिन्न कारणले त्यतिबेला त्यो संभव नभए पनि मुलुकमा सङ्कट उत्पन्न हुँदा गर्ने हाम्रो विगत पनि हो र भविष्यमा पनि यस्तो आवश्यकता पैदा हुन सक्छ । मुख्य प्रतिष्पर्धी हुनुको अर्थ हमेशा निषेध र विरोधको मनोविज्ञानका साथ अगाडि बढ्नु पर्छ भन्ने होइन । प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आफ्नो समर्थनमा सरकारको नेतृत्व लिदा पनि माओवादी अस्थिरतालाई बढवा दिएको ओलीको आरोप छ ।  सरकारमै भएका बेला समानान्तर गठबन्धनको अभ्यास गरिरहने माओवादीको प्रयास र पाँचै वर्ष सत्ता चलाउने चलखेल र २०८१ साल असारको दोस्रो सातातिर राष्ट्रिय सहमतिको सरकारको नयाँ आवरणमा प्रचण्डबाट कांग्रसलाई सरकारमा सहभागी हुन प्रस्तावलाई माओवादीको जालझेलको रुपमा प्रतिवेदनमा अर्थाइएको छ ।

उपयोग गर्ने र फ्याँक्ने प्रचण्डको पूरानै प्रयोगको नयाँ स्वरुपले मुलुकलाई थप अप्ठेरोमा पार्ने भएपछि कांग्रेस र एमाले मिल्नुको विकल्प नरहेको प्रतिवेदमा पार्टी ओलीले लेख्नु भएको छ ।

प्रतिवेदनमा अध्यक्ष ओलीले आफू नेतृत्वको सरकार बनेपछि अर्थतन्त्र सुधार भएको दाबी गर्नु भएको छ । ‘यस अवधिमा मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै आएको छ’, ओलीको प्रतिवेदनमा भनिएको छ, ‘राजनीतिक स्थायित्वको सन्देश र बलियो सरकारको गठनसँगै निजी क्षेत्रमा विश्वास अभिवृद्धि भएको छ ।पुँजी बजारमा सकारात्मक सुधार हुँदै आएको छ । गत वर्षको यसै अवधिका तुलनामा राजस्वमा वृद्धि भएको छ, निर्यात तथा आयातमा सुधार भएको छ र पुँजीगत खर्चमा वृद्धि भएको छ ।’

पहिलोपल्ट नेपालको सार्वभौम क्रेडिट रेटिङ सम्पन्न भएको र नेपालले दक्षिण एसियामा भारत पछिको दोस्रो स्थान सुरक्षित गरेको भन्दै प्रधानमन्त्री ओलीले विश्वव्यापी रूपमा नेपाल लगानीका लागि अनुकूल मुलुक हो भन्ने सन्देश गएको प्रतिवेदमा लेखिएको छ ।

प्रतिवेदनको पूर्ण पाठ

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.