एमाले केन्द्रीय कमिटीको बैठक भोलिसम्म चल्ने
अध्यक्ष ओलीले बैठकमा उठेका प्रश्नहरुको जवाफ भोलि दिनुहुने
काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक भोलि पनि जारी रहने भएको छ । बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पेश गरेको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमाथिको धारणा राख्ने क्रम नसकिएपछि बैठक थप एक दिन पर धकेलिएको हो ।
हिजोदेखि सुरु भएको बैठक आज सकिने भनिएको भए पनि बैठक भोलिसम्म लम्बिने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।
‘यो बैठक भोलि टुंगिन्छ। भोलि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले दिनुहुन्छ। र, अहिलेको समसामयिक परिस्थितिका बारेमा केही महत्वपूर्ण प्रस्तावहरु हामी पास गर्छौं र केन्द्रीय कमिटीको बैठक भोलि समापन हुन्छ।’ नेता गौतमले भन्नुभयो ।
अहिलेसम्म ६४ जना केन्द्रीय सदस्यले बोलिसकेको नेता गौतमले बताउनुभयो। उहाँले भन्नुभयो ‘भूगोलका ६४ जना र गैरभूगोलका १० जनाले आफ्नो कुरा राखेपछि अहिले पोलिटब्यूरो सदस्यहरुले बोल्न थाल्नु भएको छ।
प्रतिक्रिया राख्नुहोस्