जलवायु परिवर्तनको प्रभावः बालीनाली पाक्ने समय फेरिदै गएकोमा कृषकको चिन्ता

मनाङ- जलवायु परिवर्तनले हरेक क्षेत्रमा प्रभाव पार्दै आएको छ । विशेषगरी हिमाली जिल्लामा बढी असर गर्ने गरेको पाइएको छ । जलवायु परिवर्तनले हिमाली जिल्ला मनाङका किसान मारमा परेका छन् ।

जलवायु परिवर्तनले समयमै हिउँ नपर्दा यहाँ खेतीपातीमा सिंचाई हुन सकेको छैन । समयमा हिउँ नपर्दा खेतीपातीमा सिंचाईका लागि खोला, नदीबाट सिंचाई गर्नुपर्ने अवस्था छ । तर, यहाँ चिसोले पानी जमेको अवस्थामा सिंचाई गर्न सकस भएको छ ।

हाल तल्लो मनाङमा गहुँ, उवा (करु), फापर लगाउने बेला हो । सिंचाईको अभावले खेती गर्न सकस भएको छ । सामान्यतया मनाङमा हिजोआज अत्याधिक चिसो बढ्नाले बालीनालीका लागि पानीको मात्रा कम भई सुख्खापन आएको छ ।

चामेका कृषक शेराप विष्टले कहिल्यै खेतीपातीका लागि सिँचाइ गरेको नदेखेको, नभोगेको भएपनि आफैंले यसपालि पाइपमार्फत सिँचाइ गर्नुपरेको बताउनुभयो । सिंचाई अभावले किसान मारमा परेका उहाँको भनाई छ ।

“हामीजस्ता कृषक जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेका छौं, सधैं समयमै हिउँ पर्थ्यो, जमिनमा चिस्यानको मात्रा रहिरहन्थ्यो, तर यसपालि त जीवनमा कहिल्यै पानी लगाउन नपरेको खेतीमा सिंचाईका लागि पाइप तथा कुलोमार्फत पानी लगाएँ”, कृषक विष्टले भन्नुभयो ।

उहाँले हाल बालीनाली फल्ने, पाक्ने समय पनि फेरिएको बताउनुभयो । “हिमाली भेगमा तापक्रम वृद्धि हुँदा पहिले राम्रो नफल्ने बालीनाली फलफूल अहिले फल्छ र पाक्छ”, उहाँले भन्नुभयो । उहाँले पुस, माघमै गुराँस फुल्ने र हिउँ पर्ने समय धकेलिँदै गएर फागुन, चैत पुग्ने गरेको जानकारी दिनुभयो ।

प्रायः वर्षको एक बाली मात्र उत्पादन हुने हिमाली भेगमा दुई बाली उत्पादन हुन थालेको छ । परम्परागत खेतीकिसानीलाई आधुनिक तरिकाले खेती गर्दा बालीनाली राम्रो हुने तथा उत्पादन पनि बढी हुने उहाँले बताउनुभयो ।

जलवायु परिवर्तनले गर्दा पहिलेको घनाजङ्गल मासिएर अहिले मानव बस्तीमा परिणत भएको उहाँको भनाइ छ । त्यस्तै जलवायु परिवर्तनको असरले गर्दा हिमपात हुनुपर्ने समयमा हिमपात नहुँदा नियमित चक्र बिथोलिएको र कृषि उत्पादन घट्ने चिन्ता रहेको मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका किसान याङ्दुङ गुरुङले बताउनुभयो ।

उहाँले दश-बाह्र वर्षदेखि बिस्तारै बिस्तारै पुस, माघमा पर्ने हिउँ सर्दै फगुन, चैतमा पर्न थालेको बताउनुभयो । “पहिलाको जस्तो हिजोआज पुस, माघमा पर्ने हिउँ चैत, बैशाखमा पर्छ, हामीले जान्दासुन्दा त पुसमा हिउँले छोपेको हुन्थ्यो, हिजो आज हिउँ पर्ने समय फेरिएको छ, चैततिर पो बाक्लो हिउँ पर्छ अचम्मै लाग्छ”, उहाँले भन्नुभयो ।

समयमा हिउँ नपर्दा सिँचाइको अभाव हुने र मुख्य गरी किसानलाई समस्या पर्ने गरेको उहाँले बताउनुभयो । समयमा हिमपात नहुँदा पशुचौपायालाई पनि असर गरेको छ ।

विश्वले भोगिरहेको जलवायु परिवर्तनको असर मनाङमा पर्नु अत्यन्तै दुर्भाग्यपूर्ण भएको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले बताउनुभयो । उहाँले हिमाली क्षेत्रमा केही वर्षदेखि नाङ्गो हुँदै आएको र हिउँ पर्ने समयमा हिउँ पर्न नसकेको बताउनुभयो ।

मानव जातिले भौतिक विकासका लागि प्रकृतिको अनुचित दोहन नरोक्दा तथा मान्छे प्रकृतितिरै फर्कनुपर्छ भन्ने जनचेतनाको कमीले पनि यो परिस्थिति देखा परेको उहाँको बुझाइ छ ।

“मान्छे प्रकृतितिर फर्कनुपर्छ, प्रकृतिको आफ्नो सिस्टम छ, प्राकृतिक चक्रलाई जति विकास भएपनि बिर्सनु हुँदैन, यदि यो गर्न सकिएन भने जलवायु परिवर्तनको असरले प्राणीको अस्तित्वमा नै सङ्कट ल्याउने निश्चित छ, यसले आजको पुस्ता मात्र नभई भोलिको पुस्तासम्म दूरगामी असर पर्नेछ”, अध्यक्ष लामाले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले हिमाली जिल्लामा नै पुस महिना नै सकिन लाग्दासम्म पनि हिउँ नपर्नु दुःखद भएको बताउनुभयो । उहाँले हिउँ नपर्दा प्रकृतिको भरमा खेती गर्ने किसान चिन्तित भएको बताउँदै मानिसको नियमित प्राकृतिक चक्र नै बिथोलिन थालेकामा उहाँको चिन्ता छ ।

विगत केही वर्षदेखि हिउँ पर्ने समय बदलिँदै गएको पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो । गुरुङले जलवायु परिवर्तनको असर प्रत्यक्षरूपमा परेको उल्लेख गर्दै उत्पादन घट्दै गएको र खेतीबाली नै परिवर्तन गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

माथिल्लो मनाङमा नहुने खेती अहिले हुँदै आइरहेको अध्यक्ष गुरुङले बताउनुभयो । “हिउँकै पानीले सिँचाइ हुने मनाङमा हिउँ नै नपरेपछि पानीको अभाव देखिने नै भयो”, उहाँले भन्नुभयो, “सिंचाई अभावले खेतीपातीमा प्रत्यक्ष असर गरेको पाइन्छ ।”

पानी नै नपर्ने र हिउँको भरमा खेतीपाती तथा सिंचाई गर्ने किसानमा अहिले निराशा छाएको छ । विकासको तिर्खाले मानिसमा विनास र प्राकृतिक चक्र भुल्दा जलवायु परिवर्तन हुन पुगेको यहाँका स्थानीयको बुझाई छ । यसलाई प्राकृतिक रुपमा नै उपयोग गर्न सक्नुपर्छ । जसले गर्दा मात्रै जलवायु परिवर्तन न्यूनीकरण गर्न सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.