बागमती कार्ययाजना प्रकृतिमैत्री रूपमा अघि बढ्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं-  उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले बागमती कार्य योजना प्रकृतिमैत्री रूपमा अघि बढाउने बताउनुभएको छ । मङ्गलबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका नगर प्रमुख एवम् उपप्रमुहरूसँग प्रस्तावित बागमती कार्ययोजनामाथि छलफल कार्यक्रममा बोल्नुहुँदै अबका योजनाअनुसार प्रकृतिमैत्री रूपमा अघि बढाउनुपर्ने बताउनुभएको हो ।

‘‘बागमती कार्ययोजना टुटेको थियो । फेरि यसलाई निरन्तर दिएका छौं । बागमती कार्ययोजना प्रकृतिमैत्री रूपमा अगाडि बढाउँछौं, प्रकृतिमैत्री प्रविधिको उपयोग गर्नुपर्छ,’’ उहाँले भन्नुभयो, ‘‘यहाँको वातावरण सहुाउनेगरी योजना अघि बढाउँछौं । कार्ययोजनामा छलफलमा आएका सुझावहरू समेटेर, सरोकारवालाहरूसँग छलफल गरेर अन्तिम रूप दिन्छौं ।’’ उहाँले छलफलमा उपत्यकाका नगर प्रमुख र उपप्रमुखबाट महत्त्वपूर्ण सुझावहरू आएको पनि बताउनुभयो ।

बागमती कार्ययोजनाले बागमती नदी प्रणालीमा रहेका १७ वटा अरू नदीको समेत अध्ययन गरी प्राकृतिक संरक्षण क्षेत्र, ग्रामीण क्षेत्र, उपसहरी क्षेत्र, सहरी क्षेत्र र तल्लो क्षेत्र गरी ५ भागमा वर्गीकरण गरेर अध्ययन गर्नेछ । २० वर्षे कार्ययोजनाको लागत अनुमान दुई खर्ब २५ अर्ब ३१ करोड १६ लाख रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता योजनाले बागमती कार्ययोजना २०२४–४४ माथि छलफल आयोजना गरेको हो । छलफलमा काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष एवम् ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कार्ययोजना सकारात्मक रहेको भन्दै हरियाली जोगाउने गरी प्रकृतिमैत्री रूपमा योजना अघि बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, किर्तीपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोल, शङ्करापुर नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठ, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत, नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारी, गोदावरी नगरपालिकाका उपप्रमुख सुशीला अधिकारी, महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जन लगायतको सहभागिता थियो । नगर प्रमुख र उपप्रमुखले बागमती काेरिडोरलाई व्यवस्थित गर्ने, हरियाली कायम गर्नेगरी कार्ययोजना बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.