वृहत् समझदारी र सहभागितामा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्ने निष्कर्ष
सत्ता साझेदारदल काँग्रेससँगको विश्वास तथा समझदारी अझ सुदृढ बनाउनुपर्नेमा जोड
काठमाडौँ- नेकपा एमालेले वृहत् समझदारी र सहभागितामा संविधानको समयानुकूल संशोधनको प्रक्रिया अगाडि बढाउन सरकारलाई आग्रह गरेको छ ।
पार्टी मुख्यालय च्यासल ललितपुरमा तीन दिन सम्म चलेको केन्द्रीय कमिटी बैठकले संविधान संशोधन प्रक्रियालाई बृहतर समझदारी र सहमभागितामा साथ अघि बढाउनु पर्ने निष्कर्ष निकालेको हो ।
”नेपालको संविधान कार्यान्वयनको दश वर्ष हुन लागेको छ । संविधान कार्यान्वयनको वस्तुनिष्ठ समीक्षा गर्दै यसका सबल र दुर्बल पक्षहरूलाई निक्र्यौल गर्न र संविधानका प्रगतिशील अन्तरवस्तुहरूको संरक्षण र राजनीतिक स्थायित्वलाई सुनिश्चित गर्ने गरी वृहत् समझदारी र सहभागितामा संविधानको समयानुकूल संशोधनको प्रक्रिया अगाडि बढाउन यो बैठक सरकारसँग आग्रह गर्दछ । बैठकबाट अनुमोदन गरिएको प्रस्तावमा उल्लेख गरिएको छ ।
यस्तै बैठकले राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिको मुख्य उद्देश्य राखेर नेकपा (एमाले) र नेपाली काँग्रेस सम्मिलित संयुक्त सरकार गठन भएसँगै देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको भन्दै दुई दल बीचको सहकार्यलाई ऐतिहासिक अवसरलाई सदुपयोग गर्नुपर्ने जोड दिएको छ ।
एमालेले सत्तारूढ दलहरू बिचको आपसी विश्वास तथा समझदारी अझ सुदृढ गराउँदै लैजान साथै अर्न्थतन्त्र गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा पूरा गर्न एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न एमाले सहमतिको कार्यान्वयन र सरकारको सफलताका लागि हरसंभव योगदान पुर्याउनु पर्ने ठहर गरेको छ ।
त्यसै गरी बैठकले स्वदेशभित्र अवसर नदेखेर या भएको अवसर सदुपयोग गर्न नसकेर भइरहेको युवा पलायन प्रति चिन्ता व्यक्त गर्दै देशभित्रै केही गरौं भन्ने हुटहुटी बोकेका युवाहरूलाई प्रोत्साहन, सहयोग र साझेदारी गर्दै युवाहरूमा उद्यमशीलताको विकास गर्न, उनीहरूलाई उत्पादन, रोजगारी र स्वरोजगारीमा जोड्न र सूचना प्रविधि लगायत क्षेत्रमा प्राप्त अवसरलाई सदुपयोग गर्ने उपयुक्त वातावरण निर्माण गर्न सरकार समक्ष आग्रह समेत गरेको छ ।
बैठकले भ्रष्टाचारको अनुसन्धान, अभियोजन र न्याय निरूपणका लागि स्थापित राज्यका निकायहरूलाई अझ अधिकारसम्पन्न र साधनस्रोतले युक्त बनाउन, भ्रष्टाचारका विरूद्ध सामाजिक जागरण वृद्धि गर्न, सहकारी अनियमिततामा बचतकर्ताहरूको रकम सुरक्षितसाथ फिर्ता हुने कुरा सुनिश्चित गर्न, मुछिएका जोसुकैका विरूद्ध निर्ममतापूर्वक प्रस्तुत हुन र भ्रष्टाचार भएको भनी चर्चामा रहेका सबै प्रकरणहरूको यथाशीघ्र छानबिन गर्नुपर्नेमा जोड दिएको छ।
आइतबारबाट सुर” भएको केन्द्रीय कमिटीको बैठकले १४ प्रस्ताव पारित गर्दै बैठक सकिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्