कृषि कर्मका लागि मनाङ: अब दुर्गम हैन सुगम
मनाङ – हिमालपारिको जिल्ला भनेर चिनिने मनाङ खेतीपाती र कृषिका लागि अब ‘दुर्गम’ रहेन ।
कृषि पकेट क्षेत्र तोकिएका अन्य भेग झैं व्यवसायिकरूपमा धेरै थरी अन्न र कृषि उपज उत्पादन हुन थालेपछि लमजुङ हुँदै अन्यत्र पनि निर्यात हुन थालेको छ । २ हजार ७ सय मिटर उचाइको सदरमुकाम चामे मात्रै होइन ३ हजार ५ सय ४० मिटर उचाइको मनाङ ङिस्याङ गाउँपालिकामा बन्दाकोबी, गाजर, मुला, टमाटर, रायोजस्ता बेमौसमी तरकारी खेती सफल भएपछि आन्तरिक खपतसँगै निर्यात र आयात प्रतिस्थापन सम्भव हुन थालेको कृषि ज्ञान केन्द्रका अधिकारी बताउँछन् ।
मनाङका चार वटै पालिकामा एक दशकयता टनेल खेतीको अभ्यास हुँदै आएको छ । यसले किसान र स्थानीय बासिन्दालाई उत्साही बनाएको छ भने अर्कोतर्फ चिन्ता पनि बढाएको छ ।
विश्वव्यापी तापक्रम वृद्धिको प्रभावले हिमपात कम भएर रैथाने बालीनाली लोप हुनसक्ने तथा स्वाद र गुणस्तर खस्किन सक्ने किसानको चिन्ता छ । नासो गाउँपालिका–८ ताचैका सोलबहादुर गुरुङ भन्छन्, ‘अहिले त स्याऊ मात्रै ३/४ थरी फल्न थालेको छ, पहिला जस्तो हिउँ पर्दैन, पानी र गर्मी अलि बढ्न थालेको छ । यस्तो हुँदा स्याउसहित अरू बालीको स्वाद पनि फेरिँदै गएको छ ।’ आलुको स्वाद नै पहिलेको जस्तो नरहेको उनको अनुभव छ । स्याउ, मकै, भटमास, आलु, जौ, उवा, करु, फापर, राजमा, गहु, कोलो (सिमी) जस्ता कृषि उपज मनाङका रैथाने बालीनाली हुन् । समय अगावै फूल फूल र अन्नबाली पाक्न थालेको अनुभव स्थानीयले अनुभव गर्न थालेका छन् ।
मनाङका धेरैजसो किसान परम्परागत खेतीपाती छाड्दै व्यावसायिक स्याउ खेतीतर्फ आकर्षित हुन थालेका छन् । रैथाने बाली हराउँदै जाने र गुणस्तर खस्किने चिन्ता बढ्न थालेसँगै कृषि ज्ञान केन्द्रले अनुदानसहितका सचेतना कार्यक्रम प्राथमिकतामा राखेको केन्द्र प्रमुख मदन रेग्मी बताउनुहुन्छ ।
जलवायु परिवर्तनको प्रभावले बालीनालीको उत्पादन र गुणस्तरमा प्रभाव पारिरहेको बताउँदै उहाँले भन्नुभयो, ‘रैथाने बालीको बिउ जोगाउन, परम्परागत खेतीलाई प्रोत्साहन गर्न हामी स्थानीय तहसँगको सहकार्यमा जुटेका छौ ।
’ सन्दर्भ मनाङको मात्रै होइन, विश्वव्यापी तापमान वृद्धिको प्रभावले मौसम प्रभावित बन्दा नेपालका अन्य भेगमा पनि बोटबिरुवा र फलफूलको बाली चक्र फेरिँदै गएको छ । प्रायः बाह्रै महिना सेताम्मे हुने हिमाल केही वर्षयता मध्य हिउँदमा पनि मुस्किलले हिउँले ढाक्ने गरेको देख्न थालिएको छ ।
फागुनपछि मात्रै फुल्ने गुराँस मङ्सिर/पुसमै फूलेका खबर अधिकांश नेपालीका लागि नौलो हुन छाडेको छ । विगतमा आँपका बोट मात्रै देखिने काठमाडौँ उपत्यका आँप फल्न थालेको छ । गर्मी भेगमा मात्रै रम्ने फलफूल चिसो मानिने काठमाडौँसहितका ठाउँमा फल्न थालेपछि आफ्नो क्षेत्रमा व्यावसायिक खेतीको जानकारी लिन र अन्यत्र मात्रै हुने फलका बिरुवाबारे बुझ्न र लिन काठमाडौँको कीर्तिपुरस्थित राष्ट्रिय फलफूल विकास केन्द्र (बागवानी केन्द्र) पुग्नेहरू बढेका छन् ।
मौसम परिवर्तनले कतिपय पुराना बालीको उत्पादकत्व घट्न थालेको अनुभव सुनाउने आगन्तुकहरूले विकल्प खोज्दै आफ्ना भेगमा नयाँ फल/बिरुवातर्फ चासो लिने गरेको केन्द्रकी बागवानी विकास अधिकृत शोभा शर्माले जानकारी दिनुभयो । ‘विगतमा स्याउ राम्रोसँग नफलेका ठाउँमा तापक्रम अनुकूल हुँदा फल राम्रो लाग्न थालेपछि स्याउका बिरुवाको माग बढ्न थालेको छ’ शर्माले भन्नुभयो।
प्रतिक्रिया राख्नुहोस्