लस एन्जलस डढेलोः पाँच जनाको मृत्यु, १५ सय बढी घरमा क्षति
काठमाडौं- अमेरिकाको लस एन्जलस वरपर फैलिएको डढेलोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
डढेलो सहरमा प्रवेश गरेपछि घरहरूमा भएको आगलागीका कारण कम्तीमा एक हजार ५०० भन्दा बढी भवन जलेर नष्ट भएका छन् भने एक लाखभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएका छन् ।
पासाडेनाका अग्नि नियन्त्रक चाड अगस्टिनका अनुसार आगलागीका कारण ५०० भन्दा बढी भवन नष्ट भएका छन् । उहाँले आगलागी नियन्त्रणका लागि जुटेका अग्नि नियन्त्रकको प्रशैसा गर्दै आगलागी भीषण रहेको र नियन्त्रणमा ल्याउन निकै कठिनाइ भएको उहाँले बताउनुभयो ।
लस एन्जलस डिपार्टमेन्ट अफ वाटर एन्ड पावरका प्रमुख कार्यकारी जेनिस क्विनोनेसले प्यासिफिक पालिसडेसमा पानीका श्रोत (हाइड्रेन्ट) सुकेपछि पानीको जथाभावी प्रयोग नगर्न र जोगाएर नियन्त्रण गर्न आग्रह गर्नुभएको छ ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफ्नो सामाजिक सञ्जालमार्फत पानीको अभाव राज्यको वातावरणीय नीतिका कारण भएको दाबी गर्नुभएको छ ।
वास्तवमा, लस एन्जलसको अधिकांश पानी कोलोराडो नदीबाट आउँछ, र आवासीय प्रयोग वा फायर फाइटिंगको अलावा यसलाई खेतीमा सिँचाईका लागि प्रयोग गरिन्छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले डढेलो नियन्त्रणका लागि केन्द्रीय स्रोत र साधनसमेतको व्यवस्थापनमा ध्यान केन्द्रित गरिने बताउनुभएको छ । उहाँले यसै साता इटालीको लागि तय भएको आफ्नो भ्रमण रद्द गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्