चार प्रतिशतले बढ्यो वीरगन्ज भन्सार कार्यालयको राजश्व
पर्सा – लामो समयपछि वीरगन्ज भन्सार कार्यालयको कारोबारमा गति देखा परेको छ । कोरोना महामारी पछि आएको विश्व आर्थिक मन्दीका कारण घट्दै गएको भन्सार कार्यालयको कारोबारमा पछिल्लो समय कबिर ६ प्रतिशतको गति देखा परेको हो ।
माल बस्तुको निकासी तथा पैठारीका लागि प्रयोग हुने प्रज्ञापन पत्रको तुलनात्मक तथ्याँकलाई हेर्दा गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वीरगन्ज भन्सार कार्यालयले ३ हजार १ सय बढी प्रज्ञापन प्रयोग गरेको छ । गत आर्थिक वर्षको साउन देखि मङ्सिर सम्मको पाँच महिनामा ५८ हजार ४ सय ६८ वटा प्रज्ञापन पत्र प्रयोग भएको तुलनामा चालु आवमा ६१ हजार ५ सय ६८ वटा प्रज्ञापन पत्र प्रयोग भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार वीरगन्ज नाकालाई प्रयोग गरी नेपालका लागि हुने विभिन्न माल बस्तुको आयात तथा नेपालबाट भारत तथा तेस्रो मुलुक तर्फ हुने माल बस्तुको निर्यात बढे सँगै यसको सकारात्मक प्रभाव राजश्व संकलनमा समेत देखा परेको छ । गत आर्थिक वर्षको पहिलो ५ महिनामा ६१ अर्ब ९९ करोड ९६ लाख रुपैयाँ राजश्व सङ्कलन भएको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयले २ अर्ब ५९ करोड५४ लाख रुपैयाँ बढी अर्थात् ६४ अर्ब ५९ करोड ५१ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले जानकारी दिनुभयो । उहाँले आर्थिक मन्दीको कुप्रभावमा थोरै भए पनि कमी देखा परेकाले राजश्व सङ्कलनमा ४ प्रतिशतको सुधार देखिएको बताउनुभयो।
वीरगन्ज नाकाबाट पछिल्लो समय औद्योगिक कच्चा पर्दाथको आयात बढेको सूचना अधिकारी तिवारीको भनाइ छ । औद्योगिक कच्चा पदार्थको आयात वृद्धिले आर्थिक मन्दीको प्रभाव घट्दै गएको सङ्केत दिएकाले बिस्तारै भए पनि व्यावसायिक बस्तुको आयातमा सुधार हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्