सरकारी वकिलको बहस सकियो, आजै आदेश आउने सम्भावना
पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ ।
न्यायाधीश नीतिज राईले लामिछाने लगायतलाई थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने आदेश आजै गर्ने सम्भावना छ ।
बुधवार लामिछानेसहित सात जना प्रतिवादीका तर्फबाट थुनछेक बहस सकिएर जाहेरवालाका तर्फबाट जवाफी बहस भएको थियो । थुनछेक बहसमा प्रतिवादीले उठाएका विषयमाथि आज सरकारी वकिलको तर्फबाट जवाफी बहस भएको हो ।
उच्च सरकारी वकिल कार्यालय पोखरा र जिल्ला सरकारी वकिल कार्यालय कास्कीतर्फबाट जवाफी बहस सकिएसँगै आजै आदेश आउन सक्ने सम्भावना रहेको जिल्ला अदालत कास्कीले जनाएको छ ।
यसैबिच, आदेशको मिति नजिकिएसँगै बुधवारबाटै पोखराका शहीद चोक र जिल्ला अदालत आसपासमा सुरक्षा व्यवस्था कडा पार्दै बाक्लो सङ्ख्यामा प्रहरी खटाइएको छ ।
लामिछानेसहित पूर्व डिआइजीसमेत रहेका गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, रविको सहयोगी लीला पछाई, पूर्व सांसद तथा संस्थापक उपाध्यक्ष मिना गुरुङ, संस्थापक सदस्य मिनाकै बाबु कृष्णबहादुर र पूर्व कोषाध्यक्ष आरती गुरुङविरुद्ध जवाफी बहस सकिएसँगै न्यायाधीश नीतिज राईको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने फैसला गर्नेछन् ।
उनीहरु ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले १ अर्ब ५१ करोड बिगो माग दाबीसहित पुस ५ गते थप र ७ गते पूरक अभियोजन पत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।
प्रतिक्रिया राख्नुहोस्