प्रहरी प्रतिवेदन: ‘मकवानपुर’ लागू औषधको ट्रान्जिट प्वाइन्ट 

मकवानपुर –  मकवानपुर जिल्ला लागू औषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको अर्धवार्षिक प्रगति विवरण अनुसार मकवानपुर लागू औषधको उत्पादन, खपत, ओसारपसार,बिक्री वितरण लगायतमा ट्रान्जिट प्वाइन्टका रूपमा रहेको उल्लेख गरिएको छ ।

चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा मसान्तसम्म लागू औषध तर्फको मुद्दा दर्ता,पक्राउ परेका मानिस तथा बरामद भएको लागू औषधको तथ्याङ्कले प्रहरी भनाई लाई पुष्टि गरेको छ ।

मकवानपुर प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पौष २८ गतेसम्म ३ हजार २ सय ९४ किलोग्राम लागू औषध गाँजा बरामद गरेको छ । यो अवधिमा प्रहरीले ५१ किलो ७ सय १० ग्राम चरेस बरामद गरेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।

प्रहरीले अफिम ३ किलो ६१ ग्राम, डाइजेपाम एम्पुल १ हजार ४ सय ७५, खैरो हिरोइन २सय ५७ ग्राम, नाइट्राभेट÷ट्रामा ५५ ट्याब्लेट र कोरेक्स २० बोतल बरामद गरेको छ। चालू आर्थिक वर्षको हाल सम्म मकवानपुर प्रहरीले ८९ बिगाहा ११ कट्ठा क्षेत्रफलमा लगाएको गाँजा तथा २४ बिगाहा ३ कट्ठा अफिम खेती फडानी गरी नष्ट गरेको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।

६ महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ४ सय ७४ मुद्दा दर्ता भएको र ती मध्ये ७० वटा मुद्दा  लागू औषध सम्बन्धी रहेको उहाँले जानकारी दिनुभयो । प्रहरी विवरण अनुसार, २२ जना विदेशीको आपराधिक क्रियाकलापमा संलग्नता देखिएको छ ।

यो अवधिमा मकवानपुर प्रहरीले सुन,चाँदी, अवैध कपडा, खाद्यान्न गरी २ करोड ३६ लाख बराबरका अवैध अवैध भन्सार छलिएका सामग्री नियन्त्रणमा लिन सफल भएको छ । प्रहरीले ४५ हजार अवैध विदेशी मुद्रा नियन्त्रणमा लिएको प्रमुख खड्काले बताउनुभयो ।

प्रहरी उपरीक्षक खड्काले जिल्लामा ४० वटा सिसिटिभी थप आवश्यक रहेको बताउनुभयो । अपराध अनुसन्धानमा प्रभावकारी मानिने सिसिटिभी मकवानपुरका १ सय ५९ वटा रहेकोमा ८० वटा मात्रै चालू अवस्थामा रहेका छन् ।

सार्वजनिक विवरण अनुसार मकवानपुरमा पछिल्लो ६ महिनामा सवारी दुर्घटना बढेको देखिएको छ । यो अवधिमा १ सय ५१ सवारी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने ४ सय ९ जना घाइते भएका छन् । ट्राफिक नियम उलङ्घन गर्ने १४ हजार ४ सय ४६ लाई कारबाही गर्दा १ करोड १४ लाख राजश्व सङ्कलन भएको विवरणमा जनाइएको छ ।

अवैध गिट्टी बालुवा उत्खनन तथा ओसारपसारमा प्रयोग गरिएका ८९ सवारी कारबाहीबाट ४ लाख ४१ हजार राजश्व सङ्कलन भएको छ । सामुदायिक प्रहरी कार्यक्रम अन्तर्गत ५ सय ३३ वटा जनचेतनामूलक कार्यक्रमबाट कुल २४ हजार ४ सय ४५ लाभान्वित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.