माघे सङ्क्रान्तिमा गोरु जुधाइको तयारी
–तारुकारसहित विभिन्न स्थानमा गोरु जुधाइने
नुवाकोट- माघे सङ्क्रान्तिको अवसरमा नुवाकोटको विभिन्न स्थानहरूमा हुने गोरु जुधाइको मेलाको तयारी पुरा भएको छ । गोरु जुधाई मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।
नुवाकोटको मात्रै नभई नेपालकै एक मात्र गोरु जुधाई गरिने नुवाकोटको तारुकालगायत विभिन्न स्थानमा गरिँदै आएको गोरु जुधाई मेलाको लागी गोरु दर्ता गराउने काम सबै स्थानमा सकिएको छ । माघ १ गते मङ्गलवार नुवाकोटको तारुका (तारकेश्वर गाउँपालिका), बेत्रावती (विदुर नगरपालिका), पञ्चकन्या, लिखु, तादी गाउँपालिका लगायतका स्थानमा गोरु जुधाई प्रतियोगिता हुँदै आएको छ ।
नुवाकोटको तारुकाको चन्दनीमा १४, बेत्रावतीमा ११ तथा पञ्चकन्यामा १० हल गोरु जुधाउन तयारी गरिएका छन् । तीनै स्थानमा विजेतालाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
गोरु जुधाई मेला अन्य स्थानको भन्दा नुवाकोटको तारुका, चन्दनीको गोरु जुधाई मेला विशेष र चर्चित छ । यस पटक तारुकामा गोरु जुधाई महोत्सव र बेत्रावतीको गोरु जुधाइलाई मेलालाई आयोजकहरूले विशेष रूपमा तयारी गरिएको जनाएका छन् ।
सदियौँदेखि माघे सङ्क्रान्तिको दिन गोरु जुधाई हुने नुवाकोटको तारुकामा यस वर्ष तारुकाको पौरख, नेपालको गौरव भन्ने मूल नाराका साथ गोरु जुधाउन लागिएको छ । यस वर्ष तारुकाको चन्दनीमा ऐतिहासिक सांस्कृतिक जगेर्ना र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गोरु जुधाई सांस्कृतिक महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।
जुधाइने गोरु दुई हजार रुपैयाँ पछि फिर्ता हुने गरी शुल्क लिइएको छ भने गोरुको वर्गीकरण गरी क, ख र ग वर्ग अनुसार पुरस्कार दिइने आयोजकले जनाएको छ । गत वर्ष विजेता गोरुका धनीहरूलाई प्रोत्साहन स्वरूप वर्गीकरण अनुसार १०, ८ र ६ हजार पुरस्कार प्रदान गरिएको थियो ।
जुधाइने गोरुको औषधि उपचार तथा बिमाको व्यवस्था गरिएको छ । गोरु जुधाइलाई यस पटक महोत्सवसहित मनोरञ्जनात्मक कार्यक्रमसमेत रहेको आयोजकले जानकारी दिएको छ । तारुकामा यस वर्ष १४ हल गोरु जुधाइने तयारी भएको छ ।
तारुका गोरु जुधाई महोत्सव आयोजक समितिले तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष जस्तै यो वर्ष माघेसंक्रान्ति मेलाको अवसरमा जुधाउन गोरु दर्ता भएको जनाएको छ । ‘माघे सङ्क्रान्ति गोरु जुधाई महोत्सव’ व्यवस्थापन समितिका अध्यक्ष मदनकुमार श्रेष्ठले दिएको जानकारी अनुसार समितिले किसानलाई मेलालाई महोत्सवसहित मनोरञ्जनात्मक बनाइएको छ ।
उहाँका अनुसार यस वर्ष गोरु जुधाई मेलालाई ‘महोत्सव’का रूपमा सञ्चालन गरिएको छ । माघे सङ्क्रान्ति पर्व तारुकामा बिदेसिएका युवा जनशक्ति घर फर्कन पर्व भएका कारण विशेष रूपमा रहेको श्रेष्ठले बताउनुभयो ।
तारुकाको गोरु जुधाइ प्रतिस्पर्धालाई व्यवस्थित, आकर्षक, रोचक र थप मनोरञ्जनात्मक गतिविधिसमेत संलग्न गराइने आयोजकले बताएका छन् । ‘अघिल्ला वर्ष मेलाका रूपमा मनाइने गरिएको भए पनि यो वर्ष महोत्सवका रूपमा मनाउन लागिएको छ ।’
तारकेश्वर गापाले गोरु जुधाई मेलालाई सम्पन्न गर्न आर्थिक सहयोग गरेको अध्यक्ष शिव अधिकारी अविरलले बताउनुभयो । तारुकाको चन्दनीको गोरु जुधाई नेपालको एक मात्र स्थानमा हुने गोरु जुधाई भएको कारण यसको संरक्षण र सम्वद्र्धनमा विशेष योजना रहेको उहाँले बताउनुभयो ।
‘गोरुलाई समय निर्धारण नगरी एक आपसमा जुधेसम्म जुधाइने छ भने राष्ट्रिय तथा स्थानीय कलाकारमार्फत लोकदोहोरीलगायतका अन्य मनोरञ्जनका गतिविधिसमेत समावेश गराउन लागिएको छ’–मेला सञ्चालन समितिका संयोजक मदन श्रेष्ठले जानकारी दिनुभयो । माघे सङ्क्रान्तिको अवसरमा जुधाउन दर्ता भएका गोरुलाई एकले अर्कोसँग (वान भर्सेज वान) प्रतिस्पर्धा गराउन लागिएको छ ।
प्रतिस्पर्धामा विजेता हुने गोरु, धेरै समयसम्म जुध्ने गोरु, उत्कृष्ट प्रस्तुतिका साथ जुध्ने गोरुलगायतका शीर्षकमा गोरु धनी किसानलाई नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ । नुवाकोटको तारकेश्वर–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा जुधाइने गोरुले स्पेनी बुलफाइटको झल्को दिने र नेपालका लागि बिल कुलै नयाँ प्रतियोगिताका रूपमा परिचित छ ।
तारुकाको गोरु जुधाइलाई अनुसरण गर्दै अहिले नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाउन थालिएको भए पनि उपयुक्त स्थान, आकर्षक गोरु, रोमाञ्चक प्रतिस्पर्धा, ऐतिहासिक महत्वलगायतका कारण तारुकाको गोरु जुधाइको आकर्षण र महिमा सबैभन्दा उत्कृष्ट रहेको समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । ‘गोरु जुधाइको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई बचाउन यसलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो ।’
तारुकाको चन्दनीको गोरु जुधाई महोत्सवको उपप्रधान तथा सहरी विकास मन्त्रि प्रकाशमान सिंहले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा विभिन्न कलाकारहरूसहितको सांस्कृतिक कार्यक्रम पनि राखिएको छ ।
तारुकाको मौलिक परम्परा र इतिहास जीवन्त बनाउने गोरु जुधाई मेलामा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरू समेत आकर्षित हुन थालेका छन् । नुवाकोटको विदुर नगरपालिका १० बेत्रावती वगरमा समेत गोरु जुधाई मेला आयोजना गरिएको छ ।
बेत्रावतीको गोरु मेलाको तयारीसमेत अन्तिम चरणमा पुगेको छ । ११ हल गोरु जुधाइने स्थलको निर्माण तथा बजारलाई सिँगार्ने काम भइरहेको गोसाईंकुण्ड युवा क्लब बेत्रावतीले जनाएको छ ।
गोरु जुधाउनका लागि मैदान सम्म्याउने काम पुरा भएको छ । यस पटक नौ हल गोरु जुधाउने तयारी भएको आयोजक समितिका गणेश श्रेष्ठले जानकारी दिनुभयो ।
दर्शकहरूको थप मनोरञ्जनका लागि बेत्रावती बजारको नेवार समुदायको लाखे नाच, जिबजिबे रसुवाको ब्राह्मण समुदायको बालन भजन, मगर समुदायको सोरठी नाच, तामाङ सेलो र तामाङ जातीको झाँक्री नाच, पञ्चेबाजा सहितको झाँकी प्रदर्शन गरिने छ । क्लबका अनुसार राष्ट्रिय स्तरका कलाकारहरूको सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ ।
गोरु जुधाइका अवसरमा नुवाकोट, रसुवाका लोक गायक÷गायिकाहरूको प्रस्तुति समेत रहने छ । जुधाई जित्ने पहिलो गोरु धनी किसानलाई १५ हजार रुपैयाँ र दोस्रो हुने गोरुको धनीलाई १३ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको बेत्रावती माघे सङ्क्रान्ति गोरु जुधाई मेला आयोजक समितिले जनाएको छ ।
जुध्ने क्रममा चोटपटक लाग्ने गोरुको बिमा समेत भएको छ । नुवाकोट र रसुवाको सीमा क्षेत्र ऐतिहासिक एवं धार्मिक तीर्थस्थल बेत्रावतीमा गोरु जुधाउने परम्परा छ ।
बेत्रावतीको गोरु जुधाई माघे सङ्क्रान्तिका दिन बेत्रावतीका जुडिफाँट, साम्राटाफाँट, ढाडेबगरफाँट, दहफाँट, सिम्लेफाँटहरूमा घ्यू चाकुको भोज खाई दिउँसो गोरु चराउन खेतका फाँटहरूमा लैजादा बेत्रावतीका किसानहरूले आ–आफ्नो गोरु जुधाएर मनोरञ्जन लिने गर्दथे । उता, नुवाकोटको पञ्चकन्या गापामा ११ हल गोरु जुधाइने मेला व्यवस्थापन समितिका अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिनुभयो ।
गोरु जुधाई हेर्नका लागि नुवाकोटको तारुका र बेत्रावतीसम्म पुग्नका लागि सहज सडकका कारण यातायात सजिलो भएपछि पनि दर्शकहरूको उपस्थिति बर्सेनि बढ्दै गइरहेको आयोजकहरूको भनाई रहेको छ । गोरु जुधाई हेर्न नुवाकोट, रसुवा, धादिङ, काठमाडौँ, चितवन, मकवानपुर, गोरखा वाटसमेत सर्वसाधारण आउने गरेका छन् ।
गोरु जुधाई मेलामा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा कोसमेत विशेष उपस्थिति रहने जनाइएको छ । माघे सङ्क्रान्ति गोरु जुधाई महोत्सव समितिका अनुसार यस पटक चन्दनीको कटहरबोट पाटामा १४ हल गोरु जुधाउने तयारी गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्