भारतले आइएसआई नबिकरण नगर्दा सिमेन्ट निर्यात रोकियो
रुपन्देही- भारत सरकारको गुणस्तर प्रमाण सम्बन्धी इन्डियन स्ट्यान्डर्स इन्स्टिच्युट आइएसआई मार्क नवीकरण नभएपछि नेपालका तीन वटा उद्योगको भारतमा हुने सिमेन्ट निर्यात रोकिएको छ ।
भारत सरकारको ब्यूरो अफ इण्डियन स्ट्यान्डर्स बिआईएसले भारतमा निर्यात भइरहेका नेपाली सिमेन्टलाई गुणस्तरको आइएसआइ मार्क नवीकरण नगरेपछि अर्घाखाँची सिमेन्ट, सम्राट सिमेन्ट र बालाजी सिमेन्ट उद्योगको उत्पादन भारत निर्यात हुनबाट रोकिएको हो ।
नेपाली उत्पादन निर्यातका लागि भारत सरकारले प्रदान गर्ने गुणस्तर सम्बन्धी आइएसआइ मार्कको प्रमाणपत्र लिन अनिवार्य हुन्छ । बालाजी सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक रौनक अग्रवाल तथा अर्घाखाँची सिमेन्टका नायव महाप्रबन्धक कृष्णप्रसाद पाण्डेले भारत सरकारबाट आइएसआइ मार्क नवीकरण नभएपछि सिमेन्ट भारततर्फ निर्यात हुन नसकेको बताउनु भयो ।
अहिले कृष्णनगर नाका हुँदै घोराही सिमेन्ट, रुपन्देहीको बेलहिया नाका हुँदै पाल्पा र सर्वोत्तम सिमेन्टले भारततर्फ सिमेन्ट निर्यात गरिरहेका छन् । तर, यी उद्योगको पनि आइएसआई मार्क नबिकरण अवधि केही महिनाभित्रै सकिँदैछ ।
भैरहवा भन्सार कार्यालयका अनुसार बेलहिया नाकाहुँदै भारततर्फ निर्यात हुने मुख्य १० बस्तुमा सिमेन्ट र सिमेन्ट क्लिंकर पनि पर्छ । तर, पछिल्ला महिनामा केही उद्योगको निर्यात रोकिँदा विस्तारै निर्यात घटिरहेको छ ।
भारतले गुणस्तर चिन्ह र आयात अनुमती दिएपछि भैरहवा नाकाबाट आर्थिक वर्ष २०७९-८० मा ३१ करोड ६ लाख र २०८०-८१ मा १ अर्ब ६५ करोड ८६ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको थियो ।
चालु वर्षको मंसिर मसान्तसम्म ५ महिनाको अवधिमा ४३ करोड ४० लाख रुपैयाँको २ लाख ५९ हजार ७२१ टन सिमेन्ट भारततर्फ निर्यात भएको छ । रोकिएको सिमेन्ट निर्यातको बाटो खुलाउन तर्फ सरकारले बिशेष ध्यान दिन जरुरी देखिएको छ ।
प्रतिक्रिया राख्नुहोस्