सार्वजनिक सेवा प्रसारणको अन्तर्राष्ट्रिय अभ्यास
पिएसबी पूर्वारम्भ कार्यक्रम भोलिदेखि सुरु हुँदै
काठमाडौँ- सार्वजनिक सेवा प्रसारण नेपालले अन्तर्राष्ट्रिय अभ्यासका आधारमा सार्वजनिक सेवा प्रसारणमा सम्पादकीय स्वतन्त्रता र वित्तीय स्वतन्त्रता कायम राख्ने रणनीतिहरूको खोजी सुरु गरेको छ ।
नेपाल टेलिभिजन र रेडियो नेपाल एकिकृत भई सार्वजनिक सेवा प्रसारणमा परिणत भएसँगै भोलिदेखि सुरु हुने पिएसबी पूर्वारम्भ (PSB Pre Launching) कार्यक्रमहरु अन्तर्गत सार्वजनिक सेवा प्रसारणको अन्तर्राष्ट्रिय अभ्यास सम्बन्धि बहसको आयोजना गर्दै सम्पादकीय स्वतन्त्रता र वित्तीय स्वतन्त्रता कायम राख्ने रणनीतिहरूको खोजी गर्न थालिएको हो ।
भोलि माघ १ गते हुने सार्वजनिक सेवा प्रसारणको अन्तर्राष्ट्रिय अभ्यास सम्बन्धी बहसमा विशेष गरी, सार्वजनिक सेवा प्रसारण (पिएसबी)का विश्वव्यापी रूपमा स्थापित मुल्य र मान्यता तथा सिद्धान्त र मोडेलहरू बुझ्न सार्वजनिक सेवा प्रसारणमा अग्रणी मानिने अन्तर्राष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधिसँग गहन छलफल गरिने छ ।
भोलिको Panel Discussion मा सम्पादकीय स्वतन्त्रता र वित्तीय स्वतन्त्रता कायम राख्ने रणनीतिहरू खोजी गर्ने गरी बहस केन्द्रीत गरिने पिएसबी नेपालका अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिनु भयो ।
अध्यक्ष डा विष्टका अनुसार बहसले विश्वका सार्वजनिक सेवा प्रसारकहरू कसरी नविनतम प्रविधिमा रूपान्तरण भइरहेका छन् र दर्शकहरूलाई सेवा दिइरहेका छन् भनेर बुझ्न भोलिको सेसन महत्पूर्ण हुनेछ ।
साथै नेपालको सार्वजनिक सेवा प्रसारणको लागि अबको यात्राको लागि रूपरेखा तयार गर्न पनि प्रि-लन्चिङका सेसनहरु सहयोगी हुने उहाँको भनाइ छ।
बहसबाट निस्कने निष्कर्षले सार्वजनिक सेवा प्रसारणका अन्तर्राष्ट्रिय अभ्यासबाट नेपालको सार्वजनिक सेवा प्रसारणलाई अघि बढाउन र पिएसबीमा नागरिक अपनत्व बढ्ने अपेक्षा गरिएको छ ।
भोलिदेखि शुरु हुने पूर्वारम्भ (Pre Launching) कार्यक्रमको नेपाल टेलिभिजनका च्यानलहरु, रेडियो नेपाल र नेपालटिभीअनलाइनबाट प्रत्यक्ष प्रसारण गरिने छ ।
पूर्वारम्भ कार्यक्रमको समापन यही माघ ३ गते हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्