पिएसबी पूर्वारम्भ (प्रि-लञ्चिङ) कार्यक्रमहरु आजदेखि सुरु हुँदै
नेपाल टेलिभिजन र रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौँ- सार्वजनिक सेवा प्रसारण (पिएसबी) को पूर्वारम्भ (Pre Launching) कार्यक्रमहरु आजदेखि सुरु हुँदैछन ।
नेपाल टेलिभिजन र रेडियो नेपाल सार्वजनिक सेवा प्रसारण (पिएसबी)मा रूपान्तरण भएसँगै आज माघ १ गतेदेखि विभिन्न दस वटा सत्रमा गहन छलफलसहित पिएसबी पूर्वारम्भ (Pre Launching) कार्यक्रम हुन लागेको हो ।
आज विहान ११ बजे नेपाल टेलिभिजनमा पूर्वारम्भ कार्यक्रमको उद्घाटन समारोहको आयोजना गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ उद्घाटन समारोहको प्रमुख अतिथि हुनुहुन्छ ।
उद्घाटन समारोह लगत्तै आज १ बजेदेखि नै विषयगत छलफल (Panel Discussion) शुरु हुने छ ।
आज पिएसबीको अन्तर्राष्ट्रिय अभ्यास अन्तर्गत एशिया प्याशिफिक ब्रोडकास्टिङ युनियन (एबियू) र अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबिसी) का प्रतिनिधिहरुसँग संसारमा पिएसबीको अभ्यास र यसको दीर्घकालिन संचालनका बारेमा छलफल हुनेछ ।
यसैगरी, दिउँसो ३ बजेदेखि लोकतन्त्रको सबलीकरण र राष्ट्र निर्माणको विषयमा विषय विज्ञ तथा सरोकारवालाहरूसँग Panel Discussion हुनेछ । प्रमुख राजनीतिक दलका निर्णायक तहमा रहेका नेताहरु छलफलमा सहभागी हुनेछन ।
पिएसबीमा नेपाल टेलिभिजन र रेडियो नेपालको सहज रूपान्तरण एवं सही सञ्चालनका साथै संस्थाको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण गर्न महत्त्वपूर्ण सुझावहरु प्राप्त हुने विश्वासका साथ पूर्वारम्भ कार्यक्रम गर्न लागिएको पिएसबीका अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिनुभएको छ ।
आजदेखि सुरु हुने पूर्वारम्भ कार्यक्रमको उद्घाटन सत्र र समापन सत्र तथा विषयगत छलफलको नेपाल टेलिभिजनका च्यानलहरु, रेडियो नेपाल तथा दुबै निकायका डिजिटल प्लेटफर्मबाट प्रत्यक्ष प्रसारण गरिने व्यवस्था पनि मिलाइएको छ ।
माघ ३ गते रेडियो नेपालको प्राङ्गणमा कार्यक्रमको समापन हुनेछ ।।






प्रतिक्रिया राख्नुहोस्