सिरहाको मिर्चैयास्थित मुख्य सडक मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीय आन्दोलित

सिरहा- पुर्व-पश्चिम राजमार्गको कमला-कञ्चनपुरअन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडक मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् ।

राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारीसाधन सञ्चालन गर्न असहज भइरहेकाले दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीय सडक मर्मतको मागसहित आन्दोलनमा उत्रेका हुन् ।

स्थानीयले बुधबार केहीबेर पूर्व-पश्चिम राजमार्गको मिर्चैया सडकखण्ड अवरुद्ध पारेर विरोध जनाएका थिए । तत्काल सडक मर्मत नभए अझ कडा आन्दोलनमा उत्रिने स्थानीयवासीको भनाइ छ ।

दैनिक हजारौँ सवारीसाधन आवागमन गर्ने राजमार्ग नै भत्केर कुरुप बन्दापनि सम्बन्धित सरोकारवाला निकायको यसतर्फ ध्यान जान नसकेको स्थानीयवासी बताउछन् ।

राजमार्गको ठाउँठाउँमा गरिएको कालोपत्र अघिल्लो वर्षको असार साउन महिनाको अविरल वर्षाका कारण मिर्चैयामा भत्केका सडकको झण्डै एक वर्ष भन्दा बढी समय बितेपनि टालटुलसमेत हुनसकेका छैन ।

खासगरी पूर्वमा कटारी चोकदेखि पश्चिममा मिर्चैया थाना चोकसम्म रहेका खाल्डाखुल्डीका कारण राजमार्गको अवस्था अस्तव्यस्त बनेको स्थानीयवासीको भनाइ छ । मिर्चैयाको थाना चोक, कटारी चोक र पश्चिम बस विसौनीमा रहेका ठूल–ठूला खाल्डाखुल्डीले पैदल आवतजावत गर्न समेत समस्या भइरहेको छ ।

एकातिर सडकमा रहेका खाल्डाखुल्डी पार गर्नका लागि चालकले लेन मिच्दा दुर्घटनाको जोखिम बढेको स्थानीय व्यापारी अशोक साहको भनाइ छ । राजमार्गमा रहेका समस्यालाई समाधान गर्न सडक डिभिजन कार्यालय लहानलाई पटक-पटक जानकारी गराए पनि कुनै चासो नदिएको व्यापारीहरुले गुनासो व्यक्त गरेको छ ।

राजमार्गको केही स्थानमा सडक टुटफुट भएर खाल्डाखुल्डी हुँदासमेत सडक डिभिजन कार्यालय लहानले कालोपत्र गरेर दिगो समाधान गर्नतर्फ ध्यान नदिएको स्थानीयवासीको भनाइ छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषा जिल्लाको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्म सडक विस्तार सम्झौता म्याद सकिएपनि पूरा हुन सकेको छैन ।

कमलादेखि कञ्चनपुरसम्मको ८६ किलोमिटर लामो सो सडक विस्तारका लागि चार वर्ष अघि १५ अर्ब ५६ करोड रुपैयाँ लागतमा ठेक्कामार्फत थालिएको थियो । हालसम्म भौतिक प्रगति ६० प्रतिशत मात्र भएको सडक डिभिजन कार्यालय लहानले जनाएको छ ।

लामो समयदेखि सो खण्डको कामले गति नलिएको हो । पुरानो सडक भत्काएर छोड्दा सडक छेउछाउका बासिन्दालाई हिँड्न र सवारी साधन गुडाउन समस्या भएको गोलबजारका स्थानीय उमा ठाकुरको गुनासो छ ।

सडक निर्माणले पानीको निकास रोकिँदा वर्षायाममा पानी घरभित्र पस्ने गरेको, गर्मी सुखायाममा धुलो गर्दा श्वासप्रश्वास पनि समस्या आएको सिरहा मिर्चैयाका ठक्कु साहले बतउनुहुन्छ । राष्ट्रिय गौरवको योजना तथा एसियन हाइवेअन्तर्गत एसियाली राष्ट्रबीच व्यापार प्रवर्द्धन, आयात र निर्यात बढाउने उद्देश्यले सडक विस्तार थालिएको हो ।

संयुक्त राष्ट्रसंघको पहलमा विस्तार सुरु गरिएको एसियन हाइवे नेटवर्क कार्यक्रममा सहभागी भएको २० वर्षपछि कमला कञ्चनपुरको ८६ किलोमिटर सडक विस्तार सुरु भएको थियो ।

कमला नदीदेखि कञ्चनपुरसम्म सडक ४ तथा ६ लेनमा विस्तार भइरहेको छ । सो सडकखण्डमा खनिएको खाल्डोले हिलाम्य भएपछि यातायातका साधनलाई ८६ किमी दूरी पार गर्न ६ देखि ८ घण्टा लाग्ने गरेको छ । चाइना रेलवे इन्जिनियरिङ ग्रुपले ठेक्का लिएको सडक विस्तार दुईवटा प्याकेजमा भइरहेको छ ।

एसियाली विकास बैंक (एडीबी)को ७२ प्रतिशत तथा नेपाल सरकारको २८ प्रतिशत लगानीमा सडक विस्तार थालिएको हो । निर्माण कम्पनी तथा प्राविधिक दुवै पक्षबीचको लापार्वाहीका कारण विस्तार कार्य ढिलाइ भएको मिर्चैया स्थानीय नेता रामप्रकाश गुनासो छ ।

सन् २०२० अक्टोबर २९ देखि सडक निर्माण सुरु भइ २०२३ अक्टोबरमा सम्पन्न गर्नुपर्ने सम्झौता थियो । सरकारले पुनः २०२४ डिसेम्बर २८ सम्मका लागि १४ महिना म्याद थप गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.