विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा पिएसबी भूमिका महत्वपूर्ण
काठमाडौँ– विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा सार्वजनिक सेवा प्रसारकको भूमिका महत्वपूर्ण हुनुपर्नेमा जोड दिइएको छ ।
सार्वजनिक सेवा प्रसारण नेपालको पूर्वारम्भका अवसरमा आज आयोजित विषयगत छलफलका सहभागीहरूले विपद्का विभिन्न चरणमा सबै निकायको साझा सहकार्य र समन्वय आवश्यक हुने औँल्याउनुभयो ।
छलफलमा सहभागी बक्ताहरुले विपद्का समयमा नागरिकलाई सचेत र जिम्मेवार बनाउने, समन्वय गर्ने, राहत, उद्धारका लागि सरकारी लगायत सबै निकायलाई झकझक्याउने कुरामा सार्वजनिक सेवा प्रसारण नेपालले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।
कार्यक्रममा प्राध्यापक डा.विशालनाथ उप्रेतीले नेपाल भूकम्पीय दृष्टिले जोखिममा रहेको भन्दै जोखिम न्युनिकरणका लागि सबै पक्षले समन्वयात्मक रुपमा तयारी गरेर अगाडी बढ्नु पर्ने बताउनुभयो ।
जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक डा.अर्चना श्रेष्ठले विभागले मनसुनजन्य विपद्को तीन दिनको, कृषिको लागि एक हप्ता, ऋतुगत, मनसुनी प्रवेश, पश्चिमी वायुको पूर्वानुमान गर्ने गरेको भन्दै यसको सही सूचना प्रवाह गर्न सार्वजनिक सेवा प्रसारण नेपालले भूमिका खेल्न सक्ने बताउनुभयो ।
उहाँले आममानिसलाई मौसमसम्बन्धी जानकारी गराउने विषयसँगै मौसम पूर्वानुमान प्राविधिक र अनिश्चित विषय भएकाले यसबारे आम नागरिकलाई बुझाउन पिएसविले सहयोग गर्न सक्ने बताउनुभयो ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराई समग्र समुदाय मिलेर मात्रै विपद् जोखिम न्युनिकरण र व्यवस्थापन हुन सक्ने भन्दै सरकारको नेतृत्वमा मिडिया, शैक्षिक क्षेत्र, नीजि क्षेत्र र आमजनसमुदाय मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले विपद् पूर्व सूचना र जानकारी विना आउने र पूर्वानुमान गर्न नसकिने भएकाले यसको व्यवस्थापन र जोखिम न्युनिकरणका लागि नागरिक स्वयमनै पहिलो जिम्मेवार बन्नु पर्ने बताउनुभयो ।
नेपाली सेनाको विपद व्यवस्थापन निर्देशनालयका महासेनानी हरिशबहादुर बमले नेपाली सेनाले सबै प्रकारका विपद्का विभिन्न चरणहरूमा उद्धार राहत र प्रतिकार्यका कामहरू गर्दै आइरहेको बताउनुभयो ।
उहाँले आवश्यकता अनुसार सरकारी निकायसँग सबै तह र मिडियासँग समन्वय गरेर काम गर्ने गरेको जानकारी गराउनुभयो । नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले नेपाल प्रहरीको महत्वपूर्ण काम विपद् व्यवस्थापन भएकाले अधिकांश जनशक्ति विपद् जोखिम न्यूनीकरण र राहत उद्धारमा खट्दै आएको बताउनुभयो ।
उहाँले विपद्का समयमा सूचनाका अन्य प्रणालीहरूमा असर देखिने गरेको भन्दै नागरिकलाई सचेत गराउनेदेखि जोखिमबारे जानकारी गराउन यसअघि भूकम्पको ससमयमा नेपाल टेलिभिजन र रेडियो नेपालले खेलेको भूमिका स्मरण गर्दै पिएसवि नेपालले पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।
पत्रकार लक्ष्मण उप्रेतीले विपद्बाट ठूला क्षतिहरू हुन सक्ने, सत्य सूचनाहरू प्राप्त गर्न कठिन हुने भन्दै विपद् प्रसारणका लागि पिएसवि नेपालले दैनिक रुपमा विशेष समयनै छुट्टयाएर आम मानिसलाई सूचना दिने र सम्बन्धित निकायलाई खबरदारी गर्नु पर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्